मोरङ, भदौ ६ । विराटनगर महानगरपालिका-९ स्थित ग्रिनक्रस अस्पतालमा सकुशल जन्मिएको नवजात शिशुलाई रकम लेनदेन गरी बेपत्ता पारेको घटनामा संलग्न रहेको अभियोगमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा विराटनगर महानगरपालिका-२ रंगेली रोड स्थित दिपेश मेडिकल हलका संचालक ६८ वर्षीय डा. तपेश्वर लाल कर्ण, विराटनगर महानगरपालिका-९ बस्ने ग्रिनक्रस अस्पतालमा कार्यरत ३३ वर्षीया सुधा राजवंशी, कटहरी गाउँपालिका-२ बस्ने ४६ वर्षीया दिलमाया राजवंशी तथा ३० वर्षीय सूर्य नारायण राजवंशी, सिरहा कल्याणपुर नगरपालिका-१२ बस्ने ३८ वर्षीया निर्मला यादव र भोजपुर हतुवागढी गाउँपालिका-४ बस्ने २७ वर्षीय गोविन्द राई रहेका छन् ।
ग्रिनक्रस अस्पतालमा जन्मिएको नवजात शिशुलाई गत असार १४ गते रकम लेनदेन गरी बेपत्ता पारिएको घटनाको अनुसन्धान गर्ने क्रममा उनीहरूको संलग्नता रहेको खुल्न आएपछि जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले डा. तपेश्वर लाल कर्ण र गोविन्द राईलाई शुक्रबार तथा अन्य ४ जनालाई मंगलबार पक्राउ गरेको हो ।
स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. तपेश्वरलाल कर्ण र उनको समूहले बिक्री गरेको नवजात शिशुको प्रहरीले उद्धार गरेको छ। बेपत्ता पारिएकी शिशु सात लाख रुपैयाँमा किनबेच भएको खुलेको छ। अस्पतालका चिकित्सक तपेश्वर लाल कर्णको योजनामा बिक्री भएको उक्त शिशुका लागि खरिदकर्ताले सात लाख रुपैयाँ दिएको खुलेको हो।
उनीहरू उपर म्याद थप अनुमति लिई प्रहरीबाट थप आवश्यक अनुसन्धान भइरहेको छ ।