काठमाडौं, भदौ ६ । सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गरेको अभियोगमा अर्घाखाँची भूमिकास्थान नगरपालिका–४ घर भई हाल ललितपुर महानगरपालिका–१९ कुमारीपाटी बस्ने २९ वर्षीय तुफान केसीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
केसीले युवतीहरूलाई फेसबुकमा फ्रेन्ड रिक्वेस्ट पठाउने र चिनजानकै व्यक्तिको भनी रिसिभ गर्दा सोझै भिडियो कल गरी आफ्नो गोप्य अङ्ग प्रदर्शन गर्ने कार्य केसीले गर्ने गरेको उल्लेख छ ।
यस्ता गतिविधि नगर्न आग्रह गर्दा पीडितकै फेसबुकमा पोष्ट गरेका तस्बिरहरूमा अश्लील र अपमानजनक शब्दहरू प्रयोग गरी चरित्रहत्या गरेको उजुरीको आधारमा नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्युरो भोटाहिटीबाट खटिएको प्रहरीले प्राविधिक अनुसन्धान र विश्लेषण गर्दा केसीको संलग्नता खुल्न आएपछि उनलाई काठमाडौंबाट पक्राउ गरेको हो ।
पिडितहरुबाट प्राप्त उजुरीमाथिको प्राविधिक अनुसन्धान र विश्लेषणबाट केसी खुल्न आएपछि पक्राउ गरिएको हो । उनी उपर जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद थप भई आवश्यक अनुसन्धान भइरहेको छ ।