काठमाडौं, भदौ ६ । भारतले प्याजमा भन्सार शुल्क बढाएपछि नेपाली बजारमा यसको प्रभाव देखिन थालेको छ। काठमाडौंको मुख्य बजार मध्ये एक कालीमाटी फलफूल तथा तरकारी बजारमा व्यापारीले २ दिन देखि प्याज ल्याएका छैनन्। कालीमाटी बजारमा दैनिक १०० मेट्रिकटनसम्म प्याज आउने गरेकामा सोमबार र मंगलबार प्याज नआएको सूचना अधिकारी विनय श्रेष्ठले जानकारी दिए।
‘दैनिक औसत ९० देखि १०० मेट्रिनटनसम्म प्याज आउने गरेकामा २ दिनदेखि ठप्प छ। गत आइतबार ४७ मेट्रिकटन आएको र भएको मौज्दात सकिएपछि अहिले कालीमाटी तरकारी बजारमा प्याज छैन,’ उनले भने। यहाँ आउने सबैजसो प्याज भारतबाट आयात हुने गरेकामा भारत सरकारले गत शनिबार देखि ४० प्रतिशत भन्सार शुल्क बढाए पछि अहिले आउन छोडेको सूचना अधिकारी श्रेष्ठको भनाइ थियो।
बेच्नका लागि नै नभए पछि कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले दैनिक मूल्यसूची तालिकाबाटै प्याजलाई हटाएको छ। ‘भएको मौज्दात सकियो। व्यापारीले ल्याउने कुरा हो, उतै (भारत)बाट पठाएका छैनन् भन्ने सुनेको छु,’ उनले भने, ‘बेच्नलाई प्याज नै नभएपछि मूल्यसूचीमा नराखिएको हो।’
भारतबाट व्यापारीले प्याज नल्याएपछि एकातिर बजारमा यसको अभाव देखिएको छ भने अर्कोतिर कालोबजारी र मूल्यवृद्धि समेत देखिएको छ। पछिल्लो २ दिनमा मात्र वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले १७ तरकारी व्यापारीलाई कारबाही गरेको छ भने थप केही व्यापारी माथि अनुसन्धान चलिरहेको छ । कालो बजारी र मूल्यवृद्धि भएको गुनासो उपभोक्ताबाट आएपछि विभागले प्याज लक्षित बजार अनुगमन थालेको हो।
विभागका महानिर्देशक गजेन्द्र कुमार ठाकुरले पछिल्लो ३ दिनदेखि प्याजको बजार मूल्य केन्द्रित अनुगमन भइरहेको बताए। ‘हामीले उपत्यकामा सबैतिर पुगेर अनुगमन गरिरहेका छौँ। आज पनि कीर्तिपुर, चोभार, बनेपा लगायत क्षेत्रमा अनुगमन भइरहेको छ,’ उनले भने, ‘अहिले हामीले मुख्यगरी प्याजका आयातकर्ता र गोदाममा अनुगमन गरिरहेका छौँ । व्यापारीले प्रतिकिलो रु. ४८ मा किनेको प्याज रु. ६८-७० सम्ममा बेच्ने गरेको अनुगमनबाट देखिएको छ।’
यसरी मूल्यवृद्धि र कालोबजारी गर्ने व्यापारीलाई विभागले तत्काल अधिकतम रु. ३ लाखसम्म जरिवाना गर्ने गरेको महानिर्देशक ठाकुरले जानकारी दिए। विभागले बजार अनुगमनका क्रममा सोमबार ३ वटा व्यापारीलाई जनही रु. २० हजार, २ वटा व्यापारीलाई जनही रु. ५० हजारका दरले जरिवाना गरेको थियो भने ४ वटा आयातकर्ता र व्यापारीलाई थप अनुसन्धानका लागि कागजात माग गरेको थियो। त्यस्तै, मंगलबार अनुगमनका क्रममा १२ तरकारी व्यापारीलाई जरिवाना गरिएको थियो भने ५ व्यापारीसँग थप अनुसन्धानका लागि कागजात माग गरिएकोे थियो।