Kath khabar
चीनबाट आयात हुने विद्युतीय सवारीसाधन टिमुरेमा रोकिए

 

                     रसुवा, भदौ ८ । रसुवागढी नाकाबाट नेपाल भित्रिने चिनियाँ विद्युतीय सवारीसाधन टिमुरेमा रोकिएको छ ।

टिमुरेदेखि रोङ्गा दोभानसम्मको सडकखण्ड र भोटेकोशी पुल नजिकै याङयाङपाखा, सानुवर्खु भीर र बोलुबर्खु डाँडासम्मको सडकमा अत्यधिक माटोका कारण विद्युतीय गाडीलगायत साना सवारीसाधन चल्न रोकिएका छन् ।

रसुवा भन्सार कार्यालय टिमुरेका प्रमुख भन्सार अधिकृत रामप्रसाद पाठकका अनुसार स्याफ्रु–रसुवागढी सडकखण्डमा अत्याधिक माटोका कारण गत वर्ष र यस वर्ष साउनमा आयात गरिएका चार सयभन्दा बढी नयाँ कार, जीप र भ्यान टिमुरेमा रोकिएका छन् । सडकको अवस्था नाजुक भएकाले रसुवागढी क्षेत्रमा एमजी, बिवाइडी, किङ्लङ र नेटा कम्पनीले आयात गर्ने सवारीसाधन रोकिएको बताइएको छ ।

सडक सुधार गरी नेपाल र चीनबीचको सामान आयात–निर्यातमा सहजीकरण गर्न सडकसँग सम्बन्धित निकायलाई अनुरोध गरिएको भन्सार कार्यालयले जनाएको छ । सामान आयात–निर्यातका मुख्य नाकाको सडक संरक्षणमा सडक विभाग गम्भीर हुनुपर्ने स्थानीयवासीले माग गरेका छन् । सडक विभागसँग माटो फाल्ने ठूला उपकरण र बालुवा माटो बोक्ने टिपर हुनुपर्ने स्थानीयको माग छ ।

त्यस्तै, चालु आर्थिक वर्ष २०२३/२४ को साउन महिनामा आयातित चिनियाँ सामानबाट भन्सारमा रु १ अर्ब ३० करोड राजस्व सङ्कलन भएको छ । भन्सार कार्यालयका अनुसार लक्ष्यभन्दा ३०।२६ प्रतिशतले राजस्व संकलन बढेको छ ।

जुत्ता, चप्पल, तयारी कपडा, इलेक्ट्रोनिक उपकरण, रोल कपडा, बालबालिकाका खेलौनालगायतका विभिन्न सामग्री चीनबाट आयात गरिएको बताइएको छ । भन्सार कार्यालयका अनुसार जुलाई–अगस्टमा ३५० कन्टेनरमार्फत चिनियाँ सामान नेपाल भित्रिएको थियो ।

प्रकाशित मिति: शुक्रबार, भदौ ८, २०८०  ११:११
प्रतिक्रिया दिनुहोस्
Weather Update