Kath khabar
इन्जिनियरिङको शूल्कवृद्धि फिर्ता लिन समाजवादी मोर्चाका विद्यार्थी संगठनको आइएओईलाई आजसम्मको अल्टिमेटम


                      काठमाडौं, भदौ ८ । समाजवादी मोर्चा अन्तर्गतको विद्यार्थी संगठनहरुले इन्जिनियरिङको स्नातक तहमा भएको शुल्कवृद्धि खारेज नगरे कडा आन्दोलनको चेतावनी दिएका छन् । संवाद डबलीमा पत्रकार सम्मेलन गरेर इन्जिनियरिङ अध्ययन संस्थान (आइएओई) लाई शुक्रबार बेलुकासम्म शूल्कवृद्धिको लागि अल्टिमेटम दिएका छन् । 

चार विद्यार्थी संगठनले संयुक्त पत्रकार सम्मेलनमा इन्जिनियरिङको स्नातक तहमा नियमिततर्फ शुल्क ३५ हजारबाट बढाएर ८२ हजार र पूर्ण शुल्कतर्फ ३ लाख ३० हजारबाट बढाएर ७ लाख ७५ हजार पुर्याइएकोप्रति संयुक्त विद्यार्थी संगठनले आपत्ति जनाएका छन् । 

पत्रकार सम्मेलनमा सत्तारुढ दल नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन (अनेरास्ववियु क्रान्तिकारी)का अध्यक्ष पन्चा सिंहले वार्ताको नाटक मञ्चन गरेर भ्रममा नपार्न चेतावनी दिइन् । उनले विभिन्न कलेजहरुमा भइरहेको आन्दोलनमा आफूहरूको ऐक्यबद्धता रहेको समेत जनाइन् ।

“वार्ताको नाटक मञ्चन गरेर आन्दोलन तुहाउने दुष्प्रयत्न गरिन्छ भने यो वार्ता खारेज गरिन्छ र चारवटा विद्यार्थी संगठनको तर्फबाट निशर्त ढंगले त्यो शुल्कवृद्धि खारेज नगरेसम्म हामी वार्ताको प्रक्रियामा नजाने कुरा पनि म यो पत्रकार सम्मेलनमार्फत जानकारी गराउन चाहन्छु” अध्यक्ष सिंहले भनिन् । 

नेकपा (एस) निकट अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले आफ्नै पार्टीहरु सत्ताको नेतृत्वमा रहेपनि गलत विषयमा खरो उत्रने बताए । शुल्कवृद्धि तत्काल खारेज नभए आइएओई प्रमुखलाई गलत्याएर सडकमा ल्याउने चेतावनी दिए । जनता समाजवादी निकट समाजवादी विद्यार्थी युनियन नेपालका अध्यक्ष रमेश यादवले संविधानले शिक्षा निशुल्क भनेपनि शैक्षिक माफियाको अगाडि सबै निरिह हुनु दुर्भाग्य भएको बताए । 

नेकपा (विप्लव) निकट अखिल(क्रान्तिकारी)का उपाध्यक्ष नरेन्द्र विश्वकर्माले दलाल र माफियाहरुको चंगुलमा रहेको नेपाली शिक्षा क्षेत्रलाई नागरिकको पहुँचमा पुर्याउन जुनसुकै हदमा जाना तयार रहेको धारणा राखे ।

“नेपालको इन्जिनियरिङ शिक्षाको केन्द्रको रुपमा परिचित र आधारभुत रुपमा जनताको पहुँचमा रहेको इन्जिनियरिङ्ग अध्ययन संस्थानले आंगिक क्याम्पसहरुमा दोब्बरभन्दा बढी शुल्क अकस्मात् बढाउनुले आर्थिक रुपमा विपन्न तथा जेहेन्दार विद्यार्थीहरुलाई इन्जिनियरिङ् शिक्षाबाट बञ्चित गराउने निश्चित छ । इन्जिनियरिङ अध्ययन संस्थानको यो रबैयाको हामी घोर भर्त्सना गर्दैछौँ” संयुक्त विज्ञप्तिमा भनिएको छ । 

प्रकाशित मिति: शुक्रबार, भदौ ८, २०८०  ११:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update