Kath khabar
ललिता निवास प्रकरण : बहालवाला सिडिओ सुशील वैद्य नै फरार प्रतिवादी 


                 काठमाडौं, भदौ ८ ।  ललिता निवास जग्गा हिनामिनामा सिआइबीले बहालवाला प्रमुख जिल्ला अधिकारी (सिडिओ)लाई पनि प्रतिवादी बनाएको छ । दाङ जिल्लामा सिडिओका रूपमा कार्यरत सहसचिव सुशील वैद्यलाई सिआइबीले प्रतिवादी बनाएर राय सहितको अनुसन्धान प्रतिवेदन पेश गरेको हो । 

०७० मा काठमाडौंको भूमिसुधार अधिकारी हुँदा उनले पशुपति टिकिन्छा गुठीका नाममा सरकारी जग्गा दर्ता गरी नक्कली मोही खडा गरेर हिनामिनामा सघाएको सिआइबीको निष्कर्ष छ । अनुसन्धानका क्रममा सिआइबीले उनको बयान भने लिएको छैन । बहालमै रहेका सिडिओलाई फरार प्रतिवादी बनाइएको छ ।

१ करोड ८ लाख ७९ हजार ३ सय १० रुपैयाँ बिगो कायम गरी उनी विरुद्ध मुद्दा दायर गर्नुपर्ने प्रहरी सिफारिस छ । सिआइबीको प्रतिवेदनमा भनिएको छ, ‘निज सुशील वैद्यले सरकारी अभिलेखसँग बाझिने गरी तथा अभिलेख विपरीतका व्यहोरा उल्लेख गरी सरकारी स्वामित्वको जग्गा व्यक्तिलाई मोही कायम गरी गुठीको नाममा दर्ता गरी व्यक्तिलाई लाभ पुर्‍याउने तथा सरकारको हक मेटाई हानि पुर्‍याउने गलत नियतले किर्ते कार्यमा संलग्न रहेको, सार्वजनिक निकायका जिम्मेवार पदाधिकारी भएकाले सरकारी अभिलेखसँग भिडाई उक्त जग्गा सरकारी हो वा गुठीको जग्गा हो भन्ने अभिलेख यकिन गरी गरेर मिल्ने भए मात्र ऐन, नियम र विनियमका आधारमा रीतपूर्वक कार्य गर्नुपर्नेमा प्राप्त कागजातलाई मात्र आधार लिई, विश्वास गरी र अन्तिम तथ्य मानी सरकारी जग्गा व्यक्तिको नाममा लैजान आधारभूत प्रमाण (किर्ते प्रमाण) जुटाउने प्रपञ्च र योजनामा संलग्न भएको देखिएको, हुँदै नभएको टिकिन्छा गुठीको जग्गालाई गुठी कायम गराउने भनी मोही हक नामसारी निर्णयमा दस्तखत गरी नेपाल सरकार समरजंग कम्पनीको नाममा दर्ता कायम रहेको सरकारी जग्गालाई पशुपति टिकिन्छा गुठीको नाममा दर्ता कायम गर्न झुटा तथा बेरीतको टिप्पणी पेस गर्ने समेतको भूमिकामा रही अर्काको हक जाने नोक्सान हुने, झुटा काम गरी आफैँलाई वा अरू कसैलाई फाइदा पुग्ने कार्य गरेको ।’ 

वैद्य समेत संगठित भई आपराधिक समूहको स्थापना गरी, आपराधिक समूहको सदस्य भई तहगत रूपमा जिम्मेवारी बाँडफाँट गरी नेपाल सरकार समरजंग कम्पनीको नाममा रहेको सरकारी जग्गा व्यक्तिको नाममा मोही कायम गरी प्रस्तुत कसुर अपराध गरेको देखिएको भन्दै सिआइबीले उनलाई प्रतिवादी बनाएको हो ।

उनलाई संगठित अपराध र किर्ते मुद्दामा प्रतिवादीका रूपमा प्रस्तुत गरिएको छ । आफू विरुद्ध मुद्दा अघि बढेको थाहा पाएपछि वैद्य केही दिनयता घरबिदामा बसेका छन् । यसअघि अख्तियार दुरुपयोग अनुसन्धानले छानबिन गर्दा यस घटनामा उनको संलग्नता भेटेको थिएन ।

प्रकाशित मिति: शुक्रबार, भदौ ८, २०८०  १५:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update