सिन्धुपाल्चोक, भदौ ९ । अविरल वर्षापछि आएको बाढीले सिन्धुपाल्चोकस्थित सरस्वती माध्यमिक विद्यालयको भवन बगाएको छ । हेलम्बु गाउँपालिका–४ ग्याल्थुमस्थित जिल्लाको सबैभन्दा जेठो तथा प्रतिष्ठित सरस्वती माविको भवन मेलम्ची खोलाले बगाएको हो।
शुक्रबार बिहान नै शौचालय र निर्माणाधीन भागको पिलर बगाएर जोखिम बढेपछि स्कुल बन्द गरी डेस्क, बेन्च लगायत सामान बिहानै जनप्रतिनिधि र प्रहरी मिलेर हटाइएको थियो । दिनभरि मेलम्चीले कटान गरेपछि राति ८ बजेतिर भने स्कुलको तल्लो पट्टिको भवन पनि बगेको छ।
मेलम्चीको बाढीले हेलम्बु गाउँपालिका–४ ग्याल्थुमका चार घर पनि उच्च जोखिममा परेको छ । बाढीका कारण मेलम्ची–हेलम्बु सडक ठाउँठाउँमा अवरूद्ध भएका छन् ।
२०७८ मा मेलम्चीमा आएको बाढी बस्तीमा पसेपछि सरकारले सुरक्षित स्थानमा टहरा बनाइदिएको थियो। टहरा बनाए पनि ३०, ३५ परिवार बस्तीमै बसिरहेको वडाध्यक्ष तामाङले बताए।
बाढी आएपछि ग्याल्थुम बस्तीका स्थानीयहरू टहरामा सरेका छन् । मेलम्चीको बहाव कम नभएकाले सबैलाई सतर्क रहन वडाध्यक्ष बुद्धिमान तामाङले आग्रह गरेका छन्।