काठमाडौं, भदौ ९ । चार देश सम्मिलित महिला टी–ट्वान्टी सिरिजको उपाधि नेपालले जितेको छ ।
आज मलेसियाको बायोमास ओभल मैदानमा भएको फाइनल खेलमा नेपालले हङकङलाई १३ १३ रनले हराउँदै उपाधि जितेको हो । नेपालले ब्याटिङ गरिरहँदा वर्षा भएपछि खेलको छिनोफानो डकवर्थ लुइस पद्दतीका आधारमा गरिएको हो ।
नेपालकी इन्दु बर्माले १९ रन बनाइन् भने सीता रानामगरले १३ रन बनाइन् । नेपालले ओपनर काजोल श्रेष्ठ पहिलो बलमै गुमाएको थियो । हङकङका लागि ब्याटिङ गर्दै याशमिन दासवानीले ११, का यिङ चानले २९, मारिना एन्तोनियाले १९ तथा शान्जिन शाहजादले अविजित १४ रन बनाइन् ।
नेपालले समूह चरणको पहिलो खेलमा हङकङलाई ६ विकेटले तथा दोस्रो खेलमा कुवेतलाई ३४ रनले हराएको थियो । अन्तिम खेलमा नेपाल मलेसिायासित ६ विकेटले पराजित भएको थियो । यसैगरी हङकङ पहिलो खेलमा नेपालसित ६ विकेटले पराजित भएको थियो । उसले दोस्रो खेलमा मलेसियालाई १० विकेटले तथा तेस्रो खेलमा कुवेतलाई १६ रनले पराजित गरेको थियो ।
महिला टी–ट्वान्टी सिरिजमा आयोजक मलेसियासहित नेपाल, हङकङ र कुवेत सहभागी भएका थिए । यही अगष्ट ३१ तारिखदेखि मलेसियामै हुने आइसिसी महिला टी–२० विश्वकप एसिया क्वालिफायरको तयारीस्वरुप नेपालले उक्त सिरिज खेलेको हो ।