Kath khabar
अभिनेता सानु ताम्राकारको पशुपति आर्यघाटमा गरियो अन्त्येष्टि

 

                  काठमाडौं, भदौ ९ । वरिष्ठ कलाकार तथा अभिनेता सानु ताम्राकारको आज पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ। उनको उपचारका क्रममा शनिबार नर्भिक अस्पतालमा निधन भएको थियो।

केही समयअघि मात्र छोरो गुमाएपछि उनको स्वास्थ्य अवस्था बिग्रिएको थियो । ७५ वर्षिया ताम्राकारको मृगौलामा समस्या देखिएको थियो । गत असार २१ गते सानुका छोरा सारुक ताम्राकारले आत्महत्या गरेका थिए । छोरा गुमाएको ५० दिनपछि उनको पनि निधन भएको हो । उनलाई श्रद्धाञ्जली दिन विभिन्न कलाकारहरु पशुपति आर्यघाट पुगेका थिए ।

शास्त्रीय नृत्यमा पारंगत ताम्राकारले थुप्रै चलचित्र तथा सिरियलमा अभिनय गरेका छन् । उनले ‘जीवन रेखा, बदलिँदो आकाश, निरमोही, जुन तारा, सुरक्षा, रगत, ज्वालामुखी, जीवन मृत्यु, मन मनै मन पराए, अभियान, पल, ग्याम्लर, भूँइमान्छे, मेरी मामु’ लगायतका फिल्ममा काम गरेका छन् । ताम्राकार तीन वर्ष चलचित्र कलाकार संघको कार्यवाहक अध्यक्षसमेत बनेका थिए ।

यस्तै सारुक ताम्राकारको मृत्युपछि विवादमा परेकी अभिनेत्री नम्रता श्रेष्ठले सानु ताम्राकार र उनका छोरा सारुक ताम्राकारलाई श्रद्धाञ्जली दिएकी छन् । उनले सामाजिक सञ्जालमा दुई बाबुछोराको फोटो राख्दै, 'रिप ! बैकुण्ठमा बास होस, सम्पूर्ण परिवारमा धैर्य धारण गर्ने शक्ति मिलोस' भनेर लेखेकी छन् ।

 

प्रकाशित मिति: आइतबार, भदौ १०, २०८०  १४:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update