काठमाडौं, भदौ १० । ललिता निवास जग्गा हिनामिनामा प्रतिवादी बनेपछि दाङमा सिडिओका रूपमा कार्यरत सहसचिव सुशील वैद्यलाई गृह मन्त्रालयले जिम्मेवारी मुक्त गरेको छ। उनलाई सिडिओबाट हटाइएको छ । मुद्दा दर्ताका जानकारी प्राप्त भएपछि उनलाई निलम्बन गरिने गृह मन्त्रालयले जनाएको छ।
०६९/७० मा काठमाडौंको मालपोत कार्यालय, डिल्लीबजारमा भूमिसुधार अधिकारी हुँदा उनले पशुपति टिकिन्छा गुठीका नाममा सरकारी जग्गा दर्ता गरी नक्कली मोही खडा गरेर हिनामिनामा सघाएको सिआइबीको निष्कर्ष छ।
बयान नलिई उनलाई प्रतिवादी बनाइएको छ। जिल्ला सरकारी वकिल कार्यालयले आइतबार उनी विरुद्ध समेत मुद्दा दायर गरेको छ। १ करोड ८ लाख ७९ हजार ३ सय १० रुपैयाँ बिगो कायम गरी उनी विरुद्ध मुद्दा दायर गर्न प्रहरीले सिफारिस गरेको थियो।
वैद्य समेत संगठित भई आपराधिक समूहको स्थापना गरी, आपराधिक समूहको सदस्य भई तहगत रूपमा जिम्मेवारी बाँडफाँट गरी नेपाल सरकार समरजंग कम्पनीको नाममा रहेको सरकारी जग्गा व्यक्तिको नाममा मोही कायम गरी प्रस्तुत कसुर अपराध गरेको देखिएको भन्दै सिआइबीले उनलाई प्रतिवादी बनाएको हो।