काठमाडौं, भदौ ११ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने एसिया कप खेल्नका लागि आज पाकिस्तान प्रस्थान गरेका छन् । उनी कतार एयरवेजको फ्लाइटबाट बिहान ११ः२० मा दोहा हुँदै पाकिस्तान जानेछन् ।
आइतबार सन्दीपको मुद्दामा पेसी तोकिए पनि हेर्न नभ्याइनेमा परेको थियो । अब अर्को पेशी भदौ २१ गते तोकिएको छ । न्यायाधीश प्रकाशकुमार पण्डितको इजलासले पेसी सारेपछि उनको पाकिस्तान जाने बाटो खुलेको हो ।
सन्दीपलाई विमानस्थलमा उनका समर्थकहरुले भव्य विदाई गरेका थिए । उनलाई बिदाइ गर्न राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ विमानस्थल पुगेका थिए ।
सन्दीपलाई बिदाइ गर्दै सदस्य सचिव घिसिङले उनको उपस्थिति नेपालका लागि निकै महत्वपूर्ण रहेको बताए । क्रिकेट टोलीमा सन्दीपको उपस्थितिले नेपाली टोलीलाई पूर्ण बनाउने उनको विश्वास छ । ‘यो नेपालको इतिहासमा निकै महत्वपूर्ण प्रतियोगिता हो । प्राविधिक कारणले सन्दीप टोलीमा जान सकेनन् । अब उनको यात्रा पक्का भएको छ । सन्दीपमाथि सिंगो देशको विश्वास छ,’ घिसिङले भने ।
यस्तै सन्दीपले पाकिस्तान र भारतविरुद्ध खेल्न पाउँदा उत्साहित रहेको बताउँदै आफू पूर्ण रूपमा फिट रहेको र टिममा घुलमिल हुन समय नलाग्ने बताए । सन्दीपले टोलीका सबैजना राम्रो फर्ममा रहेकाले नेपालले राम्रो क्रिकेट खेल्ने विश्वास व्यक्त गरे ।
नेपाली टोली यसअघि ५ भदौमा नै पाकिस्तान पुगेको थियो। प्रतियोगिताको समूह ‘ए’मा रहेको नेपालले घरेलु टिम पाकिस्तानसँग भदौ १३ गते र भारतसँग भदौ १८ गते खेल्ने तालिका छ ।