Kath khabar
धाँं बाजाप्रति नयाँ पुस्ताको आकर्षण, चौथो प्रशिक्षण टोली सार्वजनिक

  

                    भक्तपुर, भदौ ११ । धाँं बाजा (एक प्रकारको बाजा) प्रशिक्षण पूरा गरेका एक समूह आइतबार सार्वजनिक भएको छ । परम्परा अनुसार प्रशिक्षण पूरा भएपछि सार्वजनिक स्थानमा बाजा बजाएर प्रदर्शन गर्ने चलन अनुसार भक्तपुर नगरपालिका वडा नं ८ लिवालिस्थित नियो निओ फ्युजन कम्प्युटर इन्स्टिच्युटबाट तालिम प्राप्त चौथो प्रशिक्षण टोली सार्वजनिक भएका हुन् ।

यही क्रममा उनीहरुले परम्परा अनुसार भक्तपुर नगरपालिका वडा नं ९ दत्तात्रयस्थित नासद्य (देवस्थल) पुगेर सामूहिक रुपमा पूजाआजा गर्नुका साथै सार्वजनिक रुपमा बाजा बजाएर प्रदर्शन गरेका थिए । त्यस क्रममा उनीहरुले नगर परिक्रमा पनि गरेका थिए । यसअघि बाहिर नभई कक्षाकोठामा मात्रै बजाउने गरिन्थ्यो ।  

प्रशिक्षण पूरा गरी आइतबार सार्वजनिक भएका बशिल त्वायनाले धाँं बाजाबारे धेरैलाई कम जानकारी भएकाले यसलाई बचाउन आफूले धाँ बाजा सिकेको सुनाए । उनले आफूलाई पुराना बाजाहरु मनपर्ने भएकाले दैनिक साँंझसाँंझको समयको सदुपयोग गरी धाँं बाजा सिकेको सुनाए ।

त्वायनाकै समूहमा धाँं बाजा सिकेकी अर्की प्रशिक्षार्थी रेणु त्वानाबासुले पहिलापहिला पुरुषहरु मात्रै सिक्न पाइने बाजा अहिले जसले सिक्दा पनि हुने भएकाले आफूले सिकेको सुनाइन् । आफूलाई पनि धाँं बाजा बजाएर प्रदर्शनमा जान मन लागेकाले बाजा सिकेको उनको भनाई थियो ।

२०७६ सालदेखि नै निरन्तर धाँ बाजा सिकाउँदै आएको बताउने भक्तपुर नगरपालिका वडा नं ८ लिवालिस्थित नियो निओ फियुजन बाजा समूहका अध्यक्ष बालकृष्ण बनमालाले पुराना बाजा बजाउने कला नयाँ पुस्तालाई हस्तान्तरण गर्ने हेतुले २०६८ सालदेखि धिमे बाजा सिकाउँदै आएको बताए । पछिल्लो पटक धाँं बाजाप्रति आकर्षण वढेकोले धाँं बाजा प्रशिक्षण पनि थपेको उनको भनाई थियो । अहिले थप बासुरी, पछीमा (बाजाको नाम) को प्रशिक्षण पनि थप गरेको उनले बताए । उनले यी सवै तालिम शुल्क रुपमा चलाउँंदै आएका छन् । बाजा सिक्न कम्तीमा १०–१५ जनाको सहभागिता हुनुपर्ने हुन्छ ।

धाँ बाजा प्रशिक्षक सविन लैबाले ५ वर्षदेखि धाँ बाजा सिकाउँदै आएको बताए । टोलटोलमा र संघसस्थाहरुमा धाँ बाजा सिकाउँदै आएको उनी सुनाउँछन् । साथै उनले आफूले धाँ सिक्ने बेलासम्ममा कोही पनि महिला सहभागिता नभएको सम्झना गरे । तर अहिले यसमा पनि केही वर्षदेखि महिलाको सहभागिता बढ्दै आएको छ, उनी भन्छन् । विशेषगरी बाजागाजाको बेलुकीको समयमा सिकाइने प्रजलन रहेको उनी बताउँंछन् ।

भक्तपुरका धिमे बाजाको प्रशिक्षक उगेन बोयजु लगभग १० वर्षदेखि टोलटोलमा तथा सघंसंस्थामा धिमेबाजा सिकाउदै आएको बताउँछन् । आफूले ११ वर्षमा सिकेर १२ वर्षको उमेरदेखि नै धिमेबाजा सिकाउन थालेको उनले उनले स्मरण गरे । अहिले धिमेबाजा सिक्न चाहनेहरुमा महिला पुरुषको सहभागिता बराबर जस्तै भएको उनी सुनाउँछन् ।

संस्कृतिविद् ओम धौभडेल मनोरञ्जनका धेरै सामाग्रीहरु बजारमा प्रचलनमा आए पनि भक्तपुरका नयाँं पुस्तामा पुरानो बाजा सिकेर, बजाएर, सार्वजनिक प्रदर्शनी गरेर रमाउने गरेको बताउँछन् । उनका अनुसार नयाँ पुस्ता पुराना बाजागाजा बजाउनमा रमाउने गरेका छन् । उहिले गुथी, दाफाभजनमा केटाहरुलाई मात्र बाजागाजा सिकाइन्थ्यो । तर अहिले सहकारी संस्था र विभिन्न बाजा समूहले केटाकेटी दुबैलाई बाजागाजा सिकाइराखेको छन्, उनी भन्छन् ।

केही वर्ष पहिला दाफा भजनबाट केटाहरूलाई मात्र सिकाउँदा बाजागाजा सिक्न आउनेको कमी र बाजागाजा नै लोभ हुने अवस्था सृजना भएको उनी सम्झिन्छन् । तर अहिले महिला पुरुष दुबैको सहभागिता भएपछि बाजागाजा हरेक घरका केटाकेटीहरु सहभागिता हुने गरेको पाइन्छ ।

प्रकाशित मिति: सोमबार, भदौ ११, २०८०  ११:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update