काठमाडौं, भदौ ११ । काठमाडौं महानगरपालिका र बुढानीलकण्ठ नगरपालिकाको सीमानामा पर्ने चखुन्चा खोला उत्खनन् कार्य चलिरहेको छ ।
वर्षा तथा सीमाङ्कनका कारण केहि दिनदेखि सुस्त रहेको उत्खनन् कार्य वर्षा रोकिएसँगै फेरि सुचारू हुने महानगरले जनाएको छ । महानगरपालिकाले महानगरबाट कपन जानका लागि सुबिधा होस् भनेर ६ वटा बेलिब्रिज तयार गरेको छ । वाल बनाउने काम सुरू हुनासाथ बेलिब्रिज लगाउने काम शुरू हुने महानगरले जनाएको छ । बेलिब्रिज तयार भएको बारे महानगर ६ का वडाध्यक्ष भुवन लामाले पनि पुष्टि गरेका छन् ।
यसै बीच महानगरपालिकाले चखुन्चा खोलालाई फैकाचोकसम्म उत्खनन् गर्ने जनाएको छ । हाल आरम्भचोकसम्म उत्खनन् भएको चखुन्चा खोलालाई फैकाचोकसम्म नै खोल्ने कुरामा महानगरले कसैसँग सम्झौता नगर्ने स्पष्ट पारेको छ । आरम्भचोकमै रोक्न लागि बुढानीलकण्ठ नगरपालिका लगायत कतिपय व्यक्ति तथा संस्थाले दिएको दबाव प्रति स्पष्टिकरण दिँदै महानगरले फैकाचोकसम्म नै चखुन्चा खोलिने प्रष्ट पारेको छ । आरम्भचोक देखि फैकाचोकसम्म खोला खोल्दा महानगरलाई नै बढी समस्या पर्ने अनुमान गरिरहेको बेला महानगरले फैकासम्म नै चखुन्चा खोलिने बताएको हो ।
महानगरको यो स्पष्टिकरण सँगै खोला खोल्ने रोक्ने वा खोलिसकेको खोलालाई अस्तव्यस्त गराएर महानगरको नियत नै खराब भन्ने देखाउन चाहनेको मुख बन्द भएको छ । महानगरले चखुन्चा फैकासम्म खोलिने कुरामा दृढता व्यक्त गरेको छ । महानगरले फैकासम्म नै खोला खोल्ने भएपछि बुढानीलकण्ठ बारेले सीमामा रहेका घरजग्गावालालाई आफ्नो निर्माण सम्पन्न र हालसाविक लगायतका कागजपत्र लिएर वडा कार्यालय आउन सूचना जारी गरेको छ ।