Kath khabar
प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठद्वारा सर्वोच्चमा स्वचालित पेशी तारेख व्यवस्थापनको उद्घाटन

 

                काठमाडौं, भदौ ११ ।  सर्वोच्च अदालतमा आजदेखि स्वचालित पेशी तारेख व्यवस्थापन शुरु भएको छ ।प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठले बिहान ११ बजे स्वचालित पेशी तारेख व्यवस्थापनको उद्घाटन गर्नुभयो ।

उहाँले प्रविधिको प्रयोगमा जोड र तारेख तोक्ने काममा कर्मचारीको हस्तक्षेप नहोस् भनेर स्वचालित प्रणाली जडान गरिएको बताउनुभयो । 

यसअघि फाँटका व्यक्तिहरूले २ पक्षको सहमतिमा पेशी तारेख दिने गरेकामा आज देखि स्वचालित रुपमा सिस्टमबाटै पेशी तारेख दिन लागिएको हो ।

अब मुद्दा दर्ता भएको मिति, विपक्षीको सङ्ख्या, अग्राधिकार पाएको नपाएको र कुन प्रकृतिको रिट वा मुद्दा हो, त्यस्तै अनुसार सिस्टमबाट नै पेशी तारेख उपलब्ध हुनेछ ।

तत्कालका लागि सर्वोच्च अदालतबाट स्वचालित तारेख व्यवस्थापन शुरु गरिएको र बिस्तारै उच्च र जिल्ला अदालतमा पनि स्वचालित तारेख व्यवस्थापन गर्ने तयारी रहेको सर्वोच्च अदालतका सूचना अधिकारी गोविन्द्र प्रसाद घिमिरेले बताउनुभयो ।

प्रकाशित मिति: सोमबार, भदौ ११, २०८०  १५:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update