Kath khabar
नेपाली कांग्रेसले भाद्र २४ देखि बिपी साहित्य महोत्सव २०८० आयोजना गर्ने


              काठमाडौं, भदौ ११ ।  नेपाली कांग्रेसले संस्थापक नेता बिपी कोइरालाको जन्मजयन्तीको अवसर पारेर बिपी साहित्य महोत्सव, २०८० गर्ने भएको छ।

कांग्रेसले बिपी कोईरालाको ११०औँ जन्मजयन्तीको अवसर पारेर भाद्र २४ गते बिपी साहित्य महोत्सव गर्न लागेको हो। कांग्रेस केन्द्रिय कार्यालयको आयोजना र नेपाली लेखक संघको संयोजनमा भाद्र २४, २५ र २६ गते कांग्रेस केन्द्रिय कार्यालय सानेपा, ललितपुरमा हुन गइरहेको सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मिन विश्वकर्माले जानकारी दिए।

महोत्सवमा सम्भाषण सहित मनोविश्लेषणात्मक साहित्य र व्यक्तिसत्ता, साहित्यमा पर्यावरण, समय र सबाल्र्टन, नेपालको मातृभाषा साहित्य, बिपीका आख्यानमा नारी, बिपीका आख्यानमा मधेश, बिपीका दृष्टिमा बिपी, बिपीले नपाएका १५ वर्ष शीर्षकमा सत्र अन्तर्गत चल्ने छन्।

त्यस्तै अन्तर्राष्ट्रिय राजनीति र कुटनीतिमा बिपी, समावेशिता, सामाजिक रुपान्तरण र बिपी, युवा पुस्तामा बिपी पठन र परिवारले बुझेका बिपी शीर्षकमा समेत सत्रहरु चल्ने प्रचार विभाग प्रमुख विश्वकर्माले जानकारी दिए।

महोत्सवमा कविता साँझ, गजल साँझ, सांगीतिक साँझ, चित्रकला प्रदर्शनी, वृत्तचित्र प्रदर्शनी र ऐतिहासिक फोटो प्रदर्शनी समेत हुने छ।

प्रकाशित मिति: सोमबार, भदौ ११, २०८०  १५:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update