रसुवा,भदौ ११ । रसुवाको उत्तरी क्षेत्रमा रहेको प्रसिद्ध धार्मिक तीर्थस्थल गोसाइँकुण्डमा जनैपूर्णिमाको अवसरमा पुगेका तीर्थयात्रीको उपचारका लागि विशेषज्ञ डाक्टरको टोली गोसाइँकुण्ड पुगेको छ ।
बाग्मती प्रदेश पर्यटन तथा सहकारी मन्त्रालय र हिमालय उद्धार सङ्घ काठमाडौंको सहकार्यमा गोसाइँकुण्डमा मेला भर्न गएका तीर्थयात्रीलाई लेक लाग्नेलगायत विविध समस्याको उपचारका लागि सात जनाको डाक्टर समूह गोसाइँकुण्ड पुगेको हो । सङ्घका प्रमुख कार्यकारी अधिकृत गोविन्द बस्यालले डा. निशान्त जोशीको संयोजकत्वमा माउन्टेन मेडिसिन सोसाइटीका ७ जना डाक्टर गोसाइँकुण्ड पुगेको जानकारी दिनुभयो ।
डा. जोशीले हिमालय उद्धार सङ्घको सोलुखुम्बुमा रहेको फेरिचे स्वास्थ्य चौकीमा काम गरिसक्नु भएको छ । यो डाक्टर समूहले १० दिन यस क्षेत्रमा सेवा गर्नेछ । ‘यो टोलीले गोसाइँकुण्ड जाने भक्तजनलाई बाटोमा समेत स्वास्थ्य सेवा प्रदान गर्ने र गोसाइँकुण्ड पुगेर एकादशी देखि पूर्णिमासम्म स्वास्थ्य जाँच गर्नेछ’, प्रमुख कार्यकारी अधिकृत बस्यालले भन्नुभयो ।
सङ्घले सन् १९९७ देखि गोसाइँकुण्डमा डाक्टरको समूह पठाएर निःशुल्क सेवा प्रदान गर्दै आइरहेको सङ्घका अध्यक्ष डम्बर पराजुलीले जानकारी दिनुभयो । सङ्घले गोसाइँकुण्ड गएका तीर्थयात्रीलाई निःशुल्क औषधि उपचार र स्वास्थ्य सेवा प्रदान गर्ने उहाँको भनाइ छ ।
समुद्र सतह देखि ४ हजार ३ सय ८० मिटर उचाइमा रहेको गोसाइँकुण्डमा रसुवाका प्रतिनिधिसभा सदस्य इन्जिनियर मोहन आचार्यको पहलमा भर्खरै मोबाइल टावर समेत पुर्याइएको छ । यसअघि गोसाइँकुण्ड दर्शन गर्न जाने तीर्थयात्रीलाई मोबाइल सम्पर्क समेत नभइरहेको अवस्थामा सांसद आचार्यले ढुवानीको व्यवस्था गरी नेपाल टेलिकमको भ्वाइस तथा 'टु जी' सञ्चालनमा आएको हो ।
एकादशी देखि भाद्र शुक्ल पूर्णिमासम्म लाग्ने यस मेलामा देश तथा विदेशबाट हजारौँ तीर्थयात्री कुण्डमा दर्शन गर्न पुग्ने गरेका छन् । गोसाइँकुण्डमा हरेक वर्ष गङ्गादशहरा र जनैपूर्णिमा गरी वर्षको २ पटक मेला लाग्ने गर्दछ ।