काठमाडौं भदौ १२ । नेपाली क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेसहित पाँच खेलाडी बिग ब्यास लिगको ड्राफ्टमा परेका छन् ।
अष्ट्रेलियन क्रिकेट बोर्डले आयोजना गर्ने विश्वकै एक उत्कृष्ट लिगमा सन्दीपसहित युवा ब्याटर देव खनाल, विकेटकिपर अर्जुन साउद, ओपनर आसिफ शेख र मध्य क्रमका ब्याटर आरिफ शेख ड्राफ्टमा परेका हुन्।
सन्दीपले गतवर्ष बिग ब्यास लिग होबार्ट हरिकेन्सबाट खेलेका थिए । यदि हरिकेन्सले चाहेको खण्डमा सन्दीपलाई रिटेन गर्न सक्नेछ । अन्य चार खेलाडीलाई भने ड्राफ्टमा किन्नुपर्ने हुन्छ ।
देव खनाल नेपालका यू-१९ कप्तान समेत हुन् । अर्जुन साउद विकेटकिपर हुन् । अर्जुन आक्रामक ब्याटर र उत्कृष्ट किपिङका लागि चिनिन्छन् । आसिफ र आरिफ दाजुभाइ भने ब्याटर हुन् । जसमा आसिफ विकेटकिपरको साथै ओपनर ब्याटरको भुमिकामा राम्रो खेलिरहेका छन् ।
१३ औँ संस्करणको बिग ब्यासमा २९ देशबाट कुल ३ सय ७६ खेलाडी ड्राफ्टमा हुनेछन् । आगामी सेप्टेम्बर ३ मा हुने बिग बासका ड्राफ्टमा आठ टोलीबीच प्रतिस्पर्धा हुनेछ।