Kath khabar
असोज १ गतेदेखि बञ्चरेडाँडाका स्थानीय बासिन्दाद्वारा आन्दोलनको घोषणा

 

                   काठमाडौं, भदौ १२ ।  बञ्चरेडाँडा ल्यान्डफिल साइट प्रभावित क्षेत्रका बासिन्दासँग विभिन्न चरणमा सरकार र काठमाडौं महानगरपालिकाले गरेका सम्झौता कार्यान्वयन नगरेको भन्दै स्थानीयबासिन्दाले शान्तिपूर्ण आन्दोलनको घोषणा गरेका छन् ।

बञ्चरेडाँडा ल्यान्डफिल साइट प्रभावित क्षेत्र व्यवस्थापन सरोकार समितिले फोहरमैला व्यवस्थापनको दीर्घकालीन योजना नअपनाएमा आउँदो असोज १ गतेदेखि बञ्चरेडाँडा ल्यान्डफिल साइटमा काठमाडौं उपत्यकाको फोहरमैला लैजान बन्द गर्ने जनाएको छ ।

समितिका संयोजक श्रीराम ढुङ्गानाले स्वच्छ रूपमा बाँच्न पाउने मानव अधिकार राज्यले सुनिश्चित गर्न नसकेको भन्दै काठमाडौं महानगरपालिकाले प्रभावित क्षेत्रका बासिन्दामा गरेको अविवेकपूर्ण व्यवहारमा आपत्ति जनाउनुभयो ।

समितिका उपसंयोजक सुमित्रा ढकालले समस्या समाधान गर्न प्रभावित क्षेत्रमा मानव बस्ती हटाइ व्यवस्थापन गर्नुपर्ने या फोहरको स्रोत जहाँ छ त्यसको व्यवस्थापन त्यही पालिकामा हुनुपर्नेमा जोड दिनुभयो । ककनी गाउँपालिका-२ का कार्यवाहक अध्यक्ष चुयामे तामाङले बञ्चरेडाँडाको फोहरबाट नागरिकलाई टाढा राख्न सबै एकजुट हुन आग्रह गर्नुभयो ।

समितिले प्रभावित क्षेत्रलाई विशेष संवेदनशील क्षेत्र घोषणा गरी मानव बस्ती रहित ल्याण्डफिल साइट विकास क्षेत्र, फोहरमैला प्रदूषण रहित बस्ती विकास क्षेत्र, प्रभावित क्षेत्रलाई विशेष संवेदनशील क्षेत्र घोषणा गरी शीघ्र कार्यान्वयन गर्नुपर्ने, प्रधानमन्त्री कार्यालयको मातहतमा काम कारबाही गर्ने गरी फोहरमैला विकास प्राधिकरण गठन गर्नुपर्ने विषयको कार्यान्वयन अवलम्बन गर्नुपर्ने माग राखेका छन्। 

प्रकाशित मिति: मंगलबार, भदौ १२, २०८०  १५:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update