काठमाडौं, भदौ १२ । सरकारले प्रमाणपत्रमा उमेर, नाम र जात सच्याउने अवधि लम्बाएकाे छ । यसअघि ६ महिनासम्म प्रमाणपत्रमा सच्याउने पाइने भएपनि अब भने गृह मन्त्रालयले पाँच वर्ष कायम गरेको छ।
गृह मन्त्रालयको प्रस्ताव बमाेजिम सरकारले ‘उमेर, नाम र जात सच्याउने नियमहरु, २०१७’ लाई समयसापेक्ष परिमार्जन ‘तेस्रो संशोधन’ नियमहरू २०८०’ पारित गरेको हाे । शैक्षिक प्रमाणपत्र सच्याउन पर्नेले नयाँ वा पुरानो नागरिकताबाहेक अन्यले अब एक वर्षभित्र राष्ट्रिय परीक्षा बोर्डमा दरखास्त दिन पाउने भएका छन् ।
अब विद्यार्थीले शैक्षिक प्रमाणपत्र लिइसकेपछि नेपाली नागरिकताको प्रमाणपत्र लिएको वा नागरिकतासम्बन्धी प्रचलित कानुन बमोजिम नेपाली नागरिकताको प्रमाणपत्रमा आफ्नो वा बाबुआमाको नाम, थर वा नामथर दुबै संशोधन गराएकाे भएमा सो बमोजिम एसएलसी, एसइई वा कक्षा १२ को प्रमाणपत्रमा आफ्नो वा बाबुआमाको नाम वा थर वा नामथर दुबै सच्याउन चाहेमा एक पटकका लागि नेपाली नागरिकताको प्रमाणपत्र लिएको वा नेपाली नागरिकताको प्रमाणपत्रमा विवरण सच्याएको एक वर्षभित्र दरखास्त दिन सक्नेछन् ।
तर कुनै विद्यार्थीले यो उपनियम सुरू हुनु अगावै नेपाली नागरिकताको प्रमाणपत्र लिएको वा नेपाली नागरिकताको प्रमाणपत्रमा आफ्नो वा बाबुआमाको नाम, थर वा नामथर दुबैमा संशोधन गराएकामा सो बमोजिम एसएलसी, एसइई वा कक्षा बाह्रको प्रमाणपत्रमा आफ्नो वा बाबुआमाको नाम वा थर वा नामथर सच्याउन पाँच वर्षभन्दा पुरानो कुनै व्यक्तिले पनि एक पटकका लागि यो उपनियम सुरू भएको एक वर्षभित्र दरखास्त दिन पाउनेछन् ।
यसैगरी, नागरिकता सच्याएको एक वर्षभित्र पनि शैक्षिक प्रमाणपत्र सच्याउनका लागि दरखास्त दिन पनि पाइने भएकाे छ । शैक्षिक प्रमाणपत्रमा उमेर, नाम र जात नमिल्दा धेरैले शास्ती भाेग्नुपरेकाे छ । नमिलेका कागजपत्र सच्याउने प्रकृया पनि झन्झटिलो भएका कारण विद्यार्थीहरूले दुख पाइरहेका थिए।