Kath khabar
नेपाल र पाकिस्तानबीचको खेलसँगै आजबाट एसिया कप सुरु हुँदै

 

                    काठमाडौं, भदौ १३ । आजदेखि सुरू हुने सौह्रौं संस्करणको एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले पाकिस्तानसँग खेल्दैछ । पाकिस्तानको मुल्तान क्रिकेट स्टेडियममा नेपाल र घरेलु टोली पाकिस्तानको खेलसँगै एसिया कपको सुरुवात हुनेछ ।

नेपालले आफ्नो क्रिकेट इतिहासमा पहिलो पटक विश्व वरियताको नम्बर एक टोली पाकिस्तानसँग खेल्न लागेको हो ।  दुवै टोली एकदिवसीय फरमेटमा पहिलो पटक आमनेसामने हुँदैछन् ।नेपाल र पाकिस्तानबीचको खेल नेपाली समय अनुसार दिउँसो सवा ३ बजेदेखि सुरु हुनेछ ।

नेपाल एसीसी पुरुष प्रिमियर कप प्रतियोगिता जितेर मुख्य ड्रको लागि छनोट भएको हो । नेपालले फाइनलमा युएईलाई हराएको थियो । नेपाली टोलीको पछिल्लो एकदिवसीय रेकर्ड उत्कृष्ट छ। यसबाहेक नेपालले पीएनजीविरुद्ध ८, अमेरिकाविरुद्ध ४, ओमान र स्कटल्याण्डविरुद्ध ३–३, नामिबियाविरुद्ध २ र नेदरल्यान्ड्सविरुद्ध एक एकदिवसीय खेल जित्न सफल भएको छ । नेदरल्याण्ड्स २०२३ को एकदिवसीय विश्वकपका लागि पनि छनोट भएको छ ।

रोहित पौडेलको कप्तानीमा रहेको नेपाली टोली एसिया कपमा उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो उपस्थिति दर्ता गराउन चाहन्छ । नेपालका कप्तान रोहित पौडेल एकदिवसीय क्रिकेटमा टिमका लागि सर्वाधिक रन बनाउने खेलाडी हुन् । यस्तो अवस्थामा एसिया कपमा सबैको नजर उनीमाथि हुनेछ । रोहितले ५२ खेलको ५१ इनिङ्समा ३२ को औसतमा १४६९ रन बनाएका छन् । एक शतक र ८ अर्धशतक बनाएका छन् । स्ट्राइक रेट ७६ छ।

योसँगै विकेटकिपर ब्याट्सम्यान आसिफ शेख पनि आफ्नो तीव्र ब्याटिङका ​​लागि परिचित छन् । उनले एकदिवसीय खेलका ४१ इनिङ्समा ३१ को औसतमा ११८७ रन बनाएका छन् । २२ वर्षीय आसिफले एक शतक र ९ अर्धशतक प्रहार गरेका छन् । ओपनर कुशल भुर्तेलले पनि ४३ इनिङ्समा ९८६ रन बनाएका छन् । एक शतक र ६ अर्धशतक बनाएका छन् ।

लेग स्पिनर सन्दीप लामिछाने नेपालको जितको मुख्य चालक हुनेछन् । उनले आईपीएल लगायत विश्वका सबै ठूला लिगमा लगातार खेल्दै आएका छन् ।लामिछानेले अहिलेसम्म ४९ ओडीआई खेलिसकेका छन् । उनले ४८ इनिङ्समा १७ को औसतमा १११ विकेट लिएका छन् । ११ रनमा ६ विकेट लिनु नै उत्कृष्ट प्रदर्शन हो । उनले ८ पटक ४ विकेट र ३ पटक ५ विकेट लिने कीर्तिमान पनि गरेका छन् । नेपाल भारत, श्रीलंका, पाकिस्तान, बंगलादेश, अफगानिस्तान, हङकङ र युएईपछि एसिया कप खेल्ने नेपाल आठौं टोली बन्नेछ । 

पाकिस्तानको कप्तानी बाबर आजमले गर्नेछन् । आजमले एसिया कपमा नेपालसँग खेल्नका लागि आतुर रहेको बताएका छन् । पाकिस्तान क्रिकेट टोलीले एसिया कपमा दुई पटक सफलता हात पारेको छ । ग्रीन टिम सन् २००० मा पहिलो पटक एसियाको उपाधि जित्न सफल भएको थियो । त्यसपछि सन् २०१२ मा टोलीले दोस्रो पटक सफलता हात पारेको थियो ।

नेपालको टोली :
रोहित पौडेल (कप्तान), आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, ललित राजवंशी, भीम सार्की, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, करण केसी, गुलशन झा, आरिफ शेख, सोमपाल कामी, प्रतिश जिसी, किशोर महतो, सन्दीप जोरा, अर्जुन साउद ९विकेटकिपर० र मौसम ढकाल ।

पाकिस्तानको प्लेइङ इलेभेन:
बाबर आजम (कप्तान), शादाब खान (उपकप्तान), फखर जमान, इमाम-उल-हक, सलमान अली आगा, इफ्तिखार अहमद, मोहम्मद रिजवान (विकेटकीपर), मोहम्मद नवाज, नसीम शाह, शाहीन शाह अफ्रिदी र हरिस रउफ।

प्रकाशित मिति: बुधबार, भदौ १३, २०८०  १०:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update