काठमाडौं, भदौ १३ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यो वर्षको जनैपूर्णिमा वा रक्षाबन्धन पर्व बिहीबार नै भएको विज्ञप्तिमार्फत प्रष्ट पारेको छ ।
यस वर्ष तिथिको घटबढका कारण दुई दिन पर्ने पर्व एकै दिन परेकोले कतिपयले अघिल्लै दिन बुधबार मनाउनुपर्ने बताएपछि समितिले जनमानसमा भ्रम परेको जनाएको हो ।
"अघिल्लो दिन पूर्णिमासँगै भद्रा रहेकाले १३ गते रात्रिमा ९ बजेर ३ मिनेटमा मात्र भद्रा सकिने हुँदा दिनमा रक्षाबन्धन गर्न मिल्दैन । रात्रिमा रक्षाबन्धन गर्ने परम्परा नभएका कारण भोलिपल्ट नै गर्नु पर्ने देखिन्छ । हालसम्म रक्षाबन्धन र जनै पूर्णिमालाई अलग अलग गर्ने परम्परा पनि छैन र एकै दिन गर्ने गरेको नै नेपालको परम्परा रहेको देखिन्छ", पञ्चाङ्ग समितिले विज्ञप्तिमा भनेको छ ।
नेवार समुदायमा मनाइने गाईजात्रा पर्वका लागि केही पालिकाले आज जनैपूर्णिमा र भोलि बिहिवार गाईजात्रा अर्थात् सापारु पर्व मनाउने निर्णय गरेका छन् ।