Kath khabar
नेपाल इन्जिनियरिङ कलेजको प्रिन्सिपलमा इन्जिनियर भण्डारी नियुक्त



                     भक्तपुर, भदौ १३ । नेपाल इन्जिनियरिङ कलेज (नेक) दुवाकोट चाँगुनारायण भक्तपुरको कार्यकारी प्रिन्सिपलमा एसोसिएट प्रोफेसर दुर्गाप्रसाद भण्डारी नियुक्त भएका छन् ।

यसअघि सहायक प्रिन्सिपल रहेका इन्जिनियर भण्डारीलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा गठित सञ्चालक समितिको मंगलबार बसेको २३ औ बैठकले कार्यकारी प्रिन्सिपल नियुक्ति दिएको हो । कलेज सञ्चालक समितिका अध्यक्ष एवं चाँगुनारायण नगरपालिकाका नगर प्रमुख जीवन खत्रीको अध्यक्षतामा बसेको बैठकले भण्डारीलाई कार्यकारी प्रिन्सिपलमा नियुक्त गरेको हो ।

कलेजका यसअघिका प्रिन्सिपल प्राडा हरिकृष्ण श्रेष्ठको उमेर हदका कारण अनिवार्य अवकाश पाएपछि कलेजको प्रिन्सिपल पद रिक्त भएको थियो । यसअघिका प्रिन्सिपल प्राडा श्रेष्ठले यही हप्ता मात्रै अवकाश पाएका थिए । यसपछि मंगलबार बसेको बैठकले भण्डारीलाई कार्यकारी प्रिन्सिपल नियुक्त गरेको हो ।

अगस्ट १, २०२१ म सहायक प्रिन्सिपल नियुक्ति भएका उनी त्यसअघि कलेजकै इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेट विभागका विभागीय प्रमुख (एचओडी) थिए । यसअघि उनी २००१ मा एसोसिएट प्रोफेसर पदमा कलेजमा नियुक्ति भएर काम सुरु गरेका थिए । उनी इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेट इन्जिनियर हुन् ।

पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यो कलेज पुल्चोक इन्जिनियरिङ कलेजपछिको दोश्रो उत्कृष्ट कलेज मानिन्छ । नाफा नलिने उद्देश्यका साथ गैरनाफामूलक संस्थाको रुपमा यो कलेज सञ्चालित छ । कलेज भक्तपुरको चाँगुनारायण नगरपालिका दुवाकोटमा रहेको छ ।

नवनियुक्त कार्यकारी प्रिन्सिपल भण्डारीले कलेजको उचाईलाई अझै अगाडि लाने प्रतिवद्धता जनाए । उनले सामाजिक कलेजको रुपमा स्थापित कलेजलाई यही रुपमा अगाडि बढाउने प्रतिवद्धतासमेत जनाए ।  

प्रकाशित मिति: बुधबार, भदौ १३, २०८०  १२:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update