Kath khabar
आज ऋषि तर्पणी, जनैपूर्णिमा तथा रक्षाबन्धन मनाइदै

 

                   काठमाडौँ, भदौ १४ । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ ।

पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन् । मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितले यजमानको दाँहिने नाडीमा बाँधिदिने गरिन्छ । गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं डोरो (रक्षासूत्र) धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ ।

तागाधारीले आजकै दिन पुरानो जनै फालेर मन्त्र साधना गरिएको नयाँ जनै लगाउने गरिन्छ । सप्तऋषि कश्यप, अत्रि, भारद्वाज, गौतम, जमदग्नि, वशिष्ठ र विश्वामित्रलाई तर्पण दिने भएकाले यस दिनलाई ऋषि तर्पणी पनि भन्ने गरिन्छ ।

तराईतिर भने रक्षाबन्धनको दिन दिदीबहिनीहरूले आफ्ना दाजुभाइलाई नाडीमा राखी बाँधीदिने चलन छ । नेवार समुदायले भने यस पर्वलाई ‘गुन्हु पुन्ही’ भनेर मास, भटमास, मुङ, ठूलो केराउ, सानो केराउ, चना, सिमी, गुराँस र बोडी गरी नौ प्रकारका गेडागुडी मिसाई पकाइएको क्वाँटी खाएर मनाउने गर्दछन् ।

यसै दिन गोसाइँकुण्ड (शिवलुती), मणिचूड दह र गोसाइँकुण्डबाट पानी आइराखेको जनविश्वास रहेको ललितपुरको कुम्भेश्वरमा ठूलो मेला लाग्ने गर्दछ । प्राचीनकालमा कुम्भ ऋषिले तपस्या गरेकाले उनकै नामबाट कुम्भेश्वर नामले प्रसिद्ध भएको उक्त तीर्थमा गोसाइँकुण्ड जान नसकेकाहरूले स्नान गरेर कुम्भेश्वर महादेवको पूजा अर्चना गर्दछन् । नेवार समुदायमा यसै दिनदेखि करुण रसले भरिएको ‘शिलु तीर्थ म्ये’ गीत गाउने गरिन्छ।

 


 

प्रकाशित मिति: बिहीबार, भदौ १४, २०८०  ०८:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update