Kath khabar
८ वर्षपछि सर्वसाधारणका लागि खुल्यो तातोपानी नाका

 

                        सिन्धुपाल्चोक, भदौ १५ । चीनसँगको उत्तरी सीमानाका तातोपानी आज देखि खुलेको छ । नेतातोपानी नाकामा आठ वर्षपछि मानिस आवतजावत सुरु भएको छ ।

आज लिपिङस्थित मितेरी पुलबाट नेपाली अध्यागमन कार्यालयको पास लिएका सिन्धुपाल्चोकका बासिन्दा चिनियाँ सुरक्षाकर्मीलाई जाँच गराएर चीनतर्फ प्रस्थान गरेका छन् । सांसद सापकोटासहितको टोलीलाई चिनियाँहरुले भव्य स्वागत गरेका थिए ।

नाका खुलाउन नेतृत्वदायी भूमिका खेल्नुभएका सिन्धुपाल्चोक क्षेत्र नं १ बाट प्रत्यक्ष निर्वाचित प्रतिनिधिसभा सदस्य माधव सापकोटा ‘सुबोध’ बिहानै तातोपानी नाका पुग्नुभएको थियो । तातोपानी क्षेत्रका जनप्रतिनिधि, भन्सार र अध्यागमन कार्यालयका अधिकारीसहित नाकामा पुग्नुभएको छ ।

विसं २०७२ वैशाख १२ गतेको महाभूकम्पपछि नेपाल–चीनबीचको सो नाका पूर्णरुपमा बन्द थियो । नेपाल र चीन दुवैतर्फ ठूलो मानवीय र भौतिक क्षति भएका कारण लामो समयसम्म नाका बन्द अवस्थामा थियो । भूकम्प सृजित कठिनाइ पन्छाएर सीमितरुपमा मात्रै सञ्चालन भएको नाका विसं २०७६ फागुनमा विश्वव्यापीरुपमा कोरोना महामारी फैलिएपछि नाका पुन:बन्द भएको थियो ।

केही समयअघि चिनियाँ अधिकारीले आजैदेखि मानिस ओहोरदोहोरका लागि नाका सञ्चालन गर्ने तयार रहेको खबर पठाएका थिए । त्यसपछि चिनियाँ अधिकारीबीच भएको छलफलले स्थानीय आवतजावत गर्न पाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले जानकारी दिनुभयो ।

प्रकाशित मिति: शुक्रबार, भदौ १५, २०८०  १२:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update