काठमाडौं, भदौ १५ । भोलि शनिबार काठमाडौं र ललितपुरका विभिन्न क्षेत्रमा साढे ८ घण्टासम्म विद्युत आपूर्ति बन्द हुने भएको छ । नेपाल विद्युत् प्राधिकारणले आज सूचना निकालेर विद्युत् अवरूद्ध हुने जानकारी दिएको हो ।
टेकु तथा के–थ्री सबस्टेसन तथा त्यससँग सम्बन्धित स्विचिङ स्टेसनहरूबाट आपूर्ति भइरहेको विद्युत् अवरूद्ध हुने भएको हो । लप्सीफेदी तथा चाँगुनारायण सबस्टेसन निर्माण आयोजनाले टेकु सबस्टेसन स्तरोन्नति गरी टेकु स्युचाटार ६६ केभी लाइन एक सय ३२ केभीमा चार्ज गर्नेगरी काम गरिहेको छ ।
रत्नपार्क, कुलेश्वर, पुल्चोक तथा लगनखेल वितरण केन्द्र अन्तर्गत पर्ने फिडरमा भोलि बिहान १० बजेदेखि बेलुका साढे ६ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने प्राधिकरणले जनाएको छ । निर्धारित समयअघि काम सकिए तत्कालै आपूर्ति गरिने पनि सूचनामा उल्लेख छ ।