काठमाडौं, असार ८ । एउटा संयोग भन्ने कि के । विश्वमा प्राय उम्दा फुटबल खेलाडीको बाल्य पृष्ठभुमी खासै राम्रो हुँदैन । विश्वकै महान् खेलाडी पेले देखि अहिलेका क्रिष्टियानो रोनाल्डो, लियोनल मेस्सी । उहाँहरुको बाल्यकाल, पहिलेको पारिवारिक अवस्थालाई कोट्याउने हो भने निकै कठिन परिस्थितीको सामना गरि लामो यात्रा गरेर हात पारेको सफलता जस्तो देखिन्छ । अनि नेपालको कुरा गर्ने हो भने वर्तमान राष्ट्रिय फुटबलका टिमका कप्तान तथा पहिलो नम्बरका गोल रक्षक किरण चेम्जोङ पनि यही संघर्षको यात्रा पार गरेर आफुलाई अब्बल बनाउनुभएको छ ।
कस्तो थियो त्यो परिस्थिती ?
आज भन्दा ३२ वर्ष अघि धनकुटाको राजारानी गाउँमा किरण चेम्जोङको जन्म भयो । उहाँको बुवाले नाम मात्र दिनुभयो । बाँकी सबै आमाको काँधमा छोडिदिनुभयो । जन्मेको केही समय पछि छाड्नु्भएको रे किरण अनि उहाँकी आमालाई । अनि बाल्यकाल आमाकै भरमा गुज्रियो । परिस्थितीले उहाँलाई सानैमा परिपक्व बनायो । “मलाई अझ पनि याद छ । म सानै थिए त्यो बेला, म र आमा मिलेर डेड रुपैयाँ केजी पर्ने स्कुुस बोकेर डेढ किलोमिटर भन्दा पर हिड्दै गएर बेच्थ्यौँ । अनि कति बेला फुटबलमा मन बस्यो खेल्न थाले अहिले म यहाँ छु । खुशी छु । सफल भइरहेको छु जस्तो लाग्छ ।” एक टेलिभिजन अन्तवार्ता उहाँले भन्नुभएको कुरा हो यो । फुटबल उहाँको लागि सानै देखि प्यारो । तर स्कुल जाँदा गतिलो जुत्ता पनि थिएन उहाँसंग ।
तर फुटबलको लागि खाली खुट्टै दौडिनु हुन्थ्यो । कहिले ठोकिन्थो, काँडा बिज्थे । यो समयमा उहाँलाई बुवाको धेरै खाँचो थियो । धेरै खोजेपछि थाहा भयो, किरणका बुवाले नयाँ परिवार बसाउनुभएछ । त्यसपछि न आमाले आफ्नो पतिलाई खोज्नु भयो न त किरणले आफ्नो बुवालाई । एक्ली आमाको साहारामा किरण हुर्किदैं जानुभयो । अनि फुटबल प्रतिको मोह बढ्दै गयो । आमाले किरणलाई फुटबल खेलेको देखेर कहिले पढाइ बिग्रिन्छ नखेल भन्नु भएन । बरु भरोसा दिनुभयो र उहाँको हरेक खेलमा उभ्भियर साथ दिनुभयो । हुन त पहिले स्कुल तिर उहाँ स्ट्राइकरमा पनि खेल्नु भयो ।
तर उहाँको कद उमेर भन्दा पनि अग्लो थियो । त्यसैले सिनियर दाईहरुले उहाँलाई गोल पोष्ट सम्हाल्दा राम्रो हुने सल्लाह दिनुभयो । पछि पछि दाईहरुले नै उहाँलाई बुट दिनुभयो । त्यो धेरै पटक च्यातियो । अनि धेरै पटक उहाँले सिलाएर नै खेल्नुभयो । पुर्वी नेपाल प्राय फुटबलको उर्भर भुमि मानिन्छ । माहोल त्यस्तै हुन्छ । फुटबलको माहोल । त्यही माहोलले उहाँलाई फुटबल बाहेक कतै जानै दिएन र सफलता पनि हात पार्दै जानु भयो । त्यतीबेला टिभी उहाँको घरमा थिएन । बजारमा रेडियोबाट उपेन्द्रमानसिहं, रितेश थापा जस्ता गोलरक्षकको नाम सुन्नुहुन्थ्यो । पत्रिका उहाँहरु उत्कृष्ट बचाउको गुनगान गाउँदै पत्रिकाले ठुलो फोटो पनि राख्थ्यो । किरण पनि सोच्नुहुन्थ्यो आफ्नो फोटो एक दिन त्यस्तै पत्रिकामा आउँछ ।
चोटले पनि सतायो, तर मेहनतका साथ अघि बढिराख्नुभयो
फुटबल बुट किन्ने पैसा पनि थिएन उहाँसँग तर उहाँको क्षमता अघि अभावले पनि हार मान्यो । १४ वर्ष हुँदा उहाँ फुटबलकै लागि काठमाण्डौँ आउनुभयो । अन्तरविद्यालय प्रतियोगिता, जुन सात दोबाटोमा भएको थियो । त्यहीबाट उमेर समुहका प्रतियोगितामा सहभागिता जनाउन थाल्नुभयो । सानै देखि अन्तराष्ट्रिय प्रतियोगितामा उहाँँले नेपालको प्रतिनिधीत्व गर्नुभयो । त्यसपछि १९ वर्षको उमेरमा नै राष्ट्रिय टिमको पोष्ट सम्हाल्ने मौका पाउनुभयो ।
अण्डर १९ खेल्दा खेल्दै राष्ट्रिय टिमबाट खेल्ने मौका पाउनु भयो । विकास मल्ल, रितेश थापा जस्ता सिनियर गोल रक्षकलाई पछि पार्दै उहाँले पहिलो वर्ष नै डेब्यु गर्ने मौका पाउनुभयो । २००८ को कुरा हो त्यो । २००८ मा भएको एएफसी च्यालेञ्ज कपमा सहभागिता जनाउनु भयो । तर दुर्भाग्य कम्बोडियामा भएको खेलमा उहाँको च्यापुमा नराम्रो चोट लाग्यो । मकाउ विरुद्धको डेब्यु खेलमा उहाँको च्यापुको हड्डी भाच्चिएको थियो । झण्डै एक वर्ष विश्राम पछि उहाँ मैदानमा फर्किनु भयो । २०११ पछि उहाँ पहिलो नम्बरकै रुपमा नेपाली फुटबलमा स्थापित हुनुहुन्छ ।
अनि आयो बुवाको फोन
घरेलु फुटबलमा मच्छिन्द्र, थ्रिस्टार र मनाङ मस्र्याङदी जस्ता ठुला क्लबबाट खेल्नु भएका उहाँले माल्दिभ्समा टिसि स्पोर्टस र भारतमा राउण्ड ग्लास पञ्जाबबाट खेल्दै आउनु भएको छ । उहाँको टिमले त्यहाँ राष्ट्रिय लिग जितेको छ भने देशमा नभई अन्तर्राष्ट्रीय मञ्चमा पनि उहालेँ ख्याती कमाइराख्नु भएको छ । उहाँले आफ्नो कप्तानीमा गत चैतमा नेपाललाई थ्रि नेसन्स कपको उपाधी दिलाउनुभयो । उहाँकै महत्वपुर्ण भुमिकामा नेपालले एसियाकपको तेस्रो चरणमा स्थान बनाएको छ । कुनै समय जुत्ता किन्न संघर्ष गर्ने उहाँको अहिले लोभलाग्दो जिवनशैली छ । काठमाण्डौँमा आलिशान घर छ । स्वीमीङ पुल तथा ठुलो कम्पाउण्ड अनिसंगै महँगो गाडी । लाखौँ युवाको आदर्शका पात्र हुनुहुन्छ किरण । धेरैले फोटो खिचाउन मरिहत्ते गर्नुहु्न्छ ।
यस्तैबेला एक दिन साँझ किरणको बुवाले फोन गर्नुभयो । तर उहाँले स्वीर्कान चहानुभएन । “म कसरी छु मेरो आमालाई मात्रै थाहा छ । मैले कसरी संघर्ष गरे । मलाई त्यतिबेला बुवा चाहिएको बेला उहाँले कहिले फर्केर हेर्नुभएन । अहिले आमाले मलाई यत्रो बनाउनुभएको छ । म किन हेर्ने बुवालाई किन सुन्ने उहाँका कुरा । मैले उहाँलाई माफी दिनै सकिन।” भावुक हुँदै उहाँले भन्नुभयो । “मेरो आमाको कारण म यहाँ सम्म छु । एउटा बुवाले बच्चा जन्माउँछ भने उसलाई जीवन पनि दिनुपर्छ । त्यो कर्तव्यबाट बुवा आफै हट्नुभएको हो र एक्लो आमाले मलाई यहाँसम्म लिएर आउनु भएको हो । मेरो आमा भगवान् हुुन् ।”
किरणको सपना
अब उहाँको एकमात्र सपना भनेको देशलाई साफ च्याम्पिय बनाउनु हो । यही वर्षको अन्त्यतिर हुने सो प्रतियोगिताामा सफलता हात पार्ने उहाँको सपना छ । तर त्यो सपना पुरा गर्नु अघि मेहेनती किरणले आफुलाई अब्बल सावित गरिसक्नुभएको छ । अनुशासनमा विश्वास राख्ने उहाँले एक सफल गोल रक्षकको नाममा अर्थात “द ग्रेट वाल अफ नेपाल” आफुलाई स्थापित गराइसक्नुभएको छ ।