Kath khabar
अत्यासलाग्दो व्यापार स्थिति ९२ प्रतिशत, आयात ८ प्रतिशत निर्यात

काठमाडौं, असार ८ । मुलुकको व्यापारस्थिति हेर्दा यहाँ केहि पनि उत्पादन नहुने भान हुन्छ। हरेक वर्ष/महिना सरकारले सार्वजनिक गर्ने व्यापारस्थितिको तथ्यांक हेर्दा आयात÷निर्यात बिन्दुको अन्तर आकाश पतालको फरक देखिन्छ जुन पछिल्लो १० महिनाको अवधिमा पनि देखिएको छ। 

अर्थ मन्त्रालयका अनुसार चालु आर्थिक वर्ष(२०७७/७८)को वैशाखमसान्तसम्मको अवधिमा कुल वस्तु व्यापारमा निकासी र पैठारीको अंश क्रमशः ८ प्रतिशत र ९२ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्ष (२०७६÷७७) को सोहि अवधिमा यस्तो अंश क्रमशः ७.४ प्रतिशत र ९२.६ प्रतिशत रहेको थियो। यस अवधिमा प्रशोधित भटमासको कच्चा तेल, मोबाइल टेलिफोन, एम.एस.विलेट, अन्य कोइला, पोलिथिन दाना, चामल लगायतका वस्तुको पैठारी बढेको छ भने डिजेल, पामको तेल लगायतको वस्तुको पैठारी घटेको बताइएको छ। 

चालु आर्थिक वर्षको वैशाख महिनासम्म कुल वस्तु पैठारीमा गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा २२.३ प्रतिशतले वृद्धि भएको छ। यस अवधिमा कुल पैठारी १२ खर्ब ५४ अर्ब ११ करोड रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कुल वस्तु पैठारी १० खर्ब २५ अर्ब १४ करोड रुपैयाँ रहेको थियो। 

सबैभन्दा उच्च आयात चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा क्रमशः भटमासको कच्चा तेल १८१.४ प्रतिशतले वृद्धि हुदाँ ३९ अर्ब ४६ करोड र मोबाइल ११८.५ प्रतिशतले वृद्धि हुदाँ ३२ अर्ब ९ करोड रहेको छ। गत आर्थिक वर्षको सोहि अवधिमा १४ अर्ब २ करोड रुपैयाँ बराबरको भटमासको कच्चा तेल र १४ अर्ब ६८ करोडको मोबाइले सेट आयात गरिएको छ।  चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म एम.एस.बिलेट ६२.२ प्रतिशतले वृद्धि हुदाँ ५७ अर्ब ४८ करोड, अन्य कोइला ४२.५ वृद्धि हुदाँ २२ अर्ब ३९ करोड, पोलिथिन दाना ३६  प्रतिशतले वृद्धि हुदाँ २१ अर्ब ७६ करोड, चामल ३३.२ प्रतिशतले वृद्धि हुदाँ २३ अर्ब ९१ करोड, तयारी कपाड २०.३ प्रतिशतले वृद्धि हुदाँ २६ अर्ब १२ करोड,  एल.पि.ग्यास ९.२ प्रतिशतले वृद्धि हुदाँ २९ अर्ब ५१  करोडको आयात गरिएको छ ।

 गत आर्थिक वर्षको सोहि अवधिमा एम.एस बिलेट ३५ अर्ब ४२ करोड, अन्य कोइला १५ अर्ब ७१ करोड, पोलिथिन दाना १६ अर्ब, चामल १७ अर्ब ९५ करोड, तयारी कपडा २१ अर्ब ७१ करोड, एल.पि.ग्यास २७ अर्ब चार करोडको आयात भएको थियो। वैशाख मसान्तसम्ममा पेट्रोल ४.२ प्रतिशतले वृद्धि हुदाँ २६ अर्ब ८८ करोड, अन्य सामग्रीमा १८.८ प्रतिशतले वृद्धि हुदाँ नौ खर्ब तीन अर्ब ८९ करोड गत आर्थिक वर्षको सोहि अवधिमा भने पेट्रोल २५ अर्ब ७९ करोड र अन्य सामग्री ७ खर्ब ६० अर्ब ९७ करोडको आयात भएको छ। 
त्यस्तै चालु आर्थिक वर्षको वैशाखसम्मा डिजेल ६ प्रतिशतले कमी आँउदा ७० अर्ब ५६ करोडको आयात गरिएकोमा गत आवको सोहि अवधिमा ७५ अर्ब ७९ करोडको आयात गरिएको थियो। कुल आयातमध्ये भारत, चीन र अन्य देशहरुतर्फ भएको निर्यातको अंश क्रमशः ६५ प्रतिशत, १४.६ प्रतिशत रहेको छ। अघिल्लो आर्थिक वर्षमा यस्तो अनुपात सोहि अवधिमा क्रमशः ६१.३ प्रतिशत, १५.२ प्रतिशत र २३.४ प्रतिशत रहेको थियो।

मन्त्रालयले १० महिनाको अवधिमा निकासीमा वृद्धि भएको समेत जनाएको छ। वैशाख महिनासम्म कुल वस्तु निकासी गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा ३२.२ प्रतिशतले वृद्धि भई एक खर्ब आठ अर्ब ४८ करोड पगेको छ। गत आर्थिक वर्षको सोहि अवधिमा कुल वस्तु निकासी ८२ अर्ब ६ करोड रहेको थियो। सरकारले उत्पादनमा ध्यान नदिदाँ मुलुकको अर्थतन्त्र आयातमुखी हुदै आएको पाईन्छ। 

प्रकाशित मिति: मंगलबार, असार ८, २०७८  ०८:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update