काठमाडौं, भदौ १९ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह(बालेन) ले सरकारले जग्गा उपलब्ध गराएमा महानगरले क्रिकेट रंगशाला बनाउन पहल गर्ने बताएका छन् ।
एसिया कप क्रिकेट अन्तर्गत नेपाल र भारतबीचको खेल हेर्न श्रीलङ्का पुगेका साहले सामाजिक सञ्जाल फेसबुकमार्फत ‘नेपाल सरकारले काठमाडौं महानगर वा आसपासमा आवश्यक सय रोपनी जग्गा उपलब्ध गराउँछ भने काठमाडौं महानगरबाट रङ्गशाला बनाउन पहल गर्नेछौँ ’, भनेका छन् ।
यस्ता भौतिक संरचना र केहि ठुला खेलहरु हुने हो भने खेलको विकास हुन सक्ने र एकै खेलबाटै करोडौँ रकम आर्जन हुन सक्ने कुरा पनि उनले प्रष्ट्याएका छन् । हिजो खेल भएको उक्त रंगशाला त्रिविको क्रिकेट स्टेडियम जस्तै अलि बढि सुविधा भएको र नेपालमा त्यहि स्तरको रंगशाला जग्गा बाहेक ८०९९० करोडमा नै बन्न सक्ने उनले उल्लेख गरेका छन् ।
त्यो बाहेक उनले सिकाइ सुविधाका लागि हरेक वडामा बलिङ नेट राख्ने प्रबन्ध यसअघि नै गरिसकेको पनि प्रष्ट पारेका छन् ।