Kath khabar
महामारीका बाबजुद पनि सरकारले ११ महिनामा ८० प्रतिशत राजस्व उठायो, बढेन खर्चने क्षमता

काठमाडौं, असार ८ । सरकारले चालु आर्थिक वर्षमा १० खर्ब ११ अर्ब राजस्व संकलन गर्ने लक्ष्य राखेकामा अहिलेसम्म ८ खर्ब ९ अर्ब संकलन भएको छ । कोरोना महामारीका बिचमा सरकारले विकास निर्माणका काम अघि बढाउन नकसेपनि जनताले कर भने उत्साहजनक रुपमा तिरेको देखिन्छ ।

अर्थात महामारीका बिचमा पनि सरकारले लक्ष्यको ८० प्रतिशत बराबरको रकम असुली सकेको छ । अब असार महिना उच्च कर संकलन हुने महिना भएकाले लक्ष्य भेट्याउन कुनै कठिन देखिदैन ।

आन्तरिक राजस्व विभागले चालु आर्थिक वर्ष ४ खर्ब ५० अर्ब ३४ करोड रुपैयाँ कर संकलनको लक्ष्य लिएको थियो । जेठसम्म लक्ष्यको ८० प्रतिशत अर्थात ३ खर्ब ७८ अर्ब ४८ करोड रुपैयाँ संकलन गरेको छ ।

उसले वैशाखमा ३३ अर्ब ९९ करोडको लक्ष्य लिएकामा ३२ अर्ब ४८ करोड उठायो । अर्थात कर संकलनमा महामारीको खास कुनै असर देखिएको छैन ।

वैशाख महिनामा आयकर लक्ष्यभन्दा २२ करोड बढी अर्थात ७ अर्ब ५० करोड उठेको थियो । तर जेठमा भने विभागले लक्ष्यको आधा मात्र उठाउन सक्यो । यो महिनामा उसले ३३ अर्ब कर संकलनको लक्ष्य लिएकामा १७ अर्बभन्दा बढी उठाउन सकेन । कर बुझाउने म्याद थपेको र आर्थिक क्रियाकलाप पनि बढ्न थालेकाले असार मसान्तसम्म लक्ष्य बराबरकै रकम उठ्ने देखिन्छ ।

भन्सार विभागका अनुसार भन्सार राजस्व जेठ मसान्तसम्म लक्ष्यको ८६ प्रतिशत संकलन भएको छ । असार मसान्तसम्म ४ खर्ब ६२ अर्ब २६ करोड उठाउने  भन्सार विभागको लक्ष्य हो । उसले अहिलेसम्म ४ खर्ब १ अर्ब उठाएको छ । अर्थात् महामारीका कारण पछिल्लो समय उपभोगमा कमि आउँदा पनि त्यसको असर राजस्वमा भने खासै परेको छैन ।

त्यस्तै गैर कर राजस्व ९८ अर्ब ८० करोड उठाउने लक्ष्य रहेकामा त्यसको आधा पनि उठेको छैन । १० खर्ब ११ अर्ब राजस्व संकलनको लक्ष्य पूरा गर्न अब १ खर्ब ९४ अर्ब उठाउनुपर्छ ।

कोभिडको दोस्रो लहर चैत अन्तिम साता सुरु भएपनि आर्थिक क्रियाकलाप भने वर्षभरि नै प्रभावित भएका छन् । तर यसका बाबजुद ८० प्रतिशत राजस्व उठ्नु सकारात्मक हो । महामारीले पिल्सिएका बेला समेत करदाताले खुरुखुरु कर तिरेका छन्, तर यता सरकारले विकास निर्माणमा गर्नुपर्ने खर्च भने प्रभावकारी ढङ्गले खर्चन सकेको छैन ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार जेठ मसान्तसम्म विकास खर्च भने लक्ष्यको जम्मा ४० प्रतिशत मात्रै खर्च भएको छ। अबका एक महिनामा के सरकारले बाँकि ६० प्रतिशत रकम खर्चन सक्ला त ? 

प्रकाशित मिति: मंगलबार, असार ८, २०७८  १०:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update