Kath khabar
सुन तस्करी प्रकरणको अनुसन्धानका क्रममा सीमा क्षेत्रबाट एक पक्राउ, काठमाडौँ ल्याइँदै

 

                     काठमाडौं, भदौ १९ । ६१ किलो सुन तस्करी प्रकरणको अनुसन्धानका क्रममा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले थप एक जनालाई पक्राउ गरेको छ ।

रुपन्देही घर भई हाल काठमाडौँको टोखा बस्ने सुमन खरेललाई नेपाल भारत सीमा क्षेत्र कपिलवस्तुबाट पक्राउ गरिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले जानकारी दिनुभयो । ब्यूरोको टोलीले उनलाई कपिलवस्तुको सीमा क्षेत्रबाट पक्राउ गरी आज काठमाडौँ ल्याउँदै गरेको र समय पुगेमा आजै म्याद थप हुने पनि उहाँले बताउनुभयो ।

यसअघि उनी भारतमा लुकिछिपी बसेकाले पक्राउ गर्न सकिएको थिएन । उनका बारेमा सूचना सङ्कलन गरिरहेको प्रहरीले सीमा क्षेत्रमा आएपछि पक्राउ गरिएको कडायतले बताउनुभयो ।

सुन तस्करी प्रकरणको सूचना सङ्कलनका लागि प्रहरीको एउटा टोली भारत गएको छ भने प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज आचार्य हङ्कङ जानुभएको छ । उहाँहरुले अहिले पनि तस्करीका सूचना सङ्कलन जारी राखेको प्रहरील जनाएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार पास भएर तस्करी गरेर लौजन लागेका बेला काठमाडौँको सिनामङ्गलबाट साउन ३ गते राजस्व अनुसन्धान विभागले ६० किलो सात सय १६ ग्राम सुन बरामद गरेको थियो । ब्रेक शुभित्र लुकाएर ल्याइएको उक्त सुन प्रकरणमा अहिलेसम्म प्रहरीले २६ जनालाई पक्राउ गरिसकेको छ ।

प्रकाशित मिति: मंगलबार, भदौ १९, २०८०  १६:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update