काठमाडौँ, भदौ २१ । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै संगठित ठगी तथा किर्ते गरेको अभियोगमा थुनामा रहेकाहरूको मुद्दामा बिहीबार उच्च अदालत पाटनमा सुनुवाइ हुँदैछ । थुनामा पठाउने आदेश विरुद्ध प्रतिवादीहरू उच्च अदालत गएका थिए ।
गत १ असारमा जिल्ला अदालत काठमाडौैंले ‘तत्काल प्राप्त प्रमाणहरूबाट यी प्रतिवादीहरू हाल कसुरदार होइनन् भन्न सकिने अवस्था देखिएन’ भन्दै १६ जनालाई थुनामा पठाएको थियो । थुनामा परेका सबैजना उच्च अदालत गएका छन् । जसमा पूर्वमन्त्रीद्वय टोप बहादुर रायमाझी र बालकृष्ण खाण समेत छन् ।
गृह मन्त्रालयमा नक्कली प्रतिवेदन बनाएको देखिएको, बिचौलिया र तत्कालीन गृहसचिव टेकनारायण पाण्डे बीच यस विषयमा च्याट भएको, बिचौलिया सानु भण्डारीको डायरीमा विभिन्न व्यक्तिलाई पैसा दिएको लगायतका विषयलाई आधार बनाई जिल्ला अदालतले थुनामा राखेको थियो । प्रहरीले ३० जना प्रतिवादी माथि २८ करोड ८१ लाख ७४ हजार रुपैयाँ भन्दा बढी बिगो माग दाबी गर्दै १० जेठमा ठगी, किर्ते, संगठित अपराध, राज्य विरुद्धको कसुर र एकीकृत कसुरको मुद्दा दायर गरेको थियो ।