काठमाडौं, असार ८ । नेपाल परिवार दलका अध्यक्ष एवम् पूर्वमन्त्री एकनाथ ढकालले उप-प्रधानमन्त्री तथा परराष्ट्र मन्त्री रघुबीर महासेठसँग भेटगरी कोभिड-१९ बिरुद्धको खोप विभिन्न मित्रराष्ट्रहरुबाट नेपाल ल्याउन सबैभन्दा बढी प्राथमिकतामा राखी युद्धस्तरमा काम गर्न आग्रह गर्नुभएको छ ।
सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा सोमबार भएको भेटमा अध्यक्ष ढकालले उप-प्रधानमन्त्री महासेठलाइ बधाई दिदै सफल कार्यकालको लागी शुभकामना दिएको भेटमा सहभागी परिवार दलका प्रवक्ता सन्तोष कुमार पौडेलले जानकारी दिनुभयो । भेटमा परराष्ट्र मन्त्री महासेठले आफुले परिणाममुखी काम गर्ने गरी छलफल र तयारीमा लागेको बताउनुभएको अध्यक्ष ढकालको सचिवालयले जनाएको छ ।
अध्यक्ष ढकालले एमसीसी लगायत मित्रराष्ट्रहरुको सहयोगका परियोजनाहरुलाई नेपालको हितमा संचालन गरिनुपर्ने धारणा राख्नुभएको थियो । परिवार दलले निर्वाचन अघिनै सम्पूर्ण नेपालीलाई खोप उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गर्दै आएको छ ।