काठमाडौं, भदौ २२ । आज ५७औँ अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाइँदैछ । संयुक्त राष्ट्र सङ्घको आह्वानमा हरेक वर्ष सेप्टेम्बर ८ तारिखका दिन दिवस मनाउने गरिन्छ ।
नेपालमा ‘दिगो र शान्तिपूर्ण समाज निर्माणका लागि साक्षरताको प्रवर्द्धन’ नाराका साथ दिवस मनाइँदैछ । सरकारले पहिलो पटक २०६५ सालमा साक्षरता अभियानको शुरुवात गरेको थियो । त्यतिबेला २ वर्ष भित्र निरक्षरता उन्मूलन गर्ने लक्ष्य राखिएको भए पनि अझै १३ जिल्ला साक्षर घोषणा हुन बाँकी छ।
मधेस प्रदेशका ८ जिल्ला धनुषा, बारा, पर्सा, रौतहट, महोत्तरी, सर्लाही, सिरहा, सप्तरी तथा कर्णाली प्रदेशका मुगु, जुम्ला, कालीकोट, हुम्ला र डोल्पा पूर्ण साक्षर जिल्ला घोषणा हुन सकेका छैनन् । अरु ६४ जिल्लालाई साक्षर घोषणा गरिएको छ । देशभर १६१ वटा पालिका साक्षर घोषणा हुन बाँकी छ ।
कुल जनसङ्ख्याको न्यूनतम ९५ प्रतिशत साक्षर भएका जिल्ला, पालिका वा प्रदेशलाई साक्षर घोषणा गर्न सकिने संयुक्त राष्ट्र सङ्घको विश्वव्यापी अभ्यास छ । सरकारले आर्थिक वर्ष २०८०/८१ भित्र नेपाललाई साक्षर नेपाल घोषणा गर्ने लक्ष्य राखेको छ ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रको पछिल्लो तथ्याङ्क अनुसार ५ वर्ष माथिको साक्षरता दर ७६.२ प्रतिशत छ । त्यस्तै १५ देखि ६० वर्षसम्मको साक्षरता दर ८५ प्रतिशत छ।