Kath khabar
आज देशभर सामान्य बदली,  काठमाडौंमा दिउँसो क्षणिक वर्षाको सम्भावना

 

                     काठमाडौं, भदौ २४ । आज गण्डकी र सुदूरपश्चिम प्रदेशसहित पहाडी क्षेत्रमा गए रातिदेखि हल्कादेखि मध्यम वर्षा भइरहेको छ भने कोशी, बागमती, कर्णाली र लुम्बिनीका एक–दुई स्थानमा पानी परिरहेको छ । उक्त वर्षा हल्कादेखि मध्यम खालको रहेको छ ।

हाल मनसुनको न्यूनचापीय रेखाको पश्चिमी भू–भाग सरदर स्थानको उत्तरतिर अवस्थित छ । पूर्वी भू–भाग सरदर स्थानको दक्षिणतिर अवस्थित छ । साथै बङ्गालको खाडीको उत्तर–पश्चिम र आसपासको क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यसका कारण हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको महाशाखाद्वारा प्रकाशित बुलेटिनमा उल्लेख छ । मौसमविद्का अनुसार काठमाडौँमा आज दिउँसो क्षणिक वर्षाको सम्भावना रहेको छ ।

आज दिउँसो सुदूरपश्चिम प्रदेशमा सामान्यतया बदली र बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

यसैगरी आज रातिको समयमा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई ठाउँमा भारी वर्षाको अनुमान गरिएको महाशाखाले जनाएको छ । तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ  ।

 

प्रकाशित मिति: आइतबार, भदौ २४, २०८०  १०:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update