Kath khabar
जी-२० शिखर सम्मेलन आज सकिँदै

 

                  नयाँ दिल्ली, भदौ २४ ।  भारतको नयाँ दिल्लीमा हिजोदेखि शुरु भएको जी-२० को २ दिने शिखर सम्मेलन आज सकिँदैछ । यो सम्मेलनमा अमेरिका र रुसलाई मनाएर जी-२० घोषणापत्र जारी भएको छ ।

घोषणापत्र मुख्यतः बलियो, दिगो, सन्तुलित र समावेशी वृद्धि, दिगो विकास लक्ष्यमा प्रगतिको गति, दिगो भविष्यका लागि हरित विकास सम्झौता, २१औँ शताब्दीका लागि बहुपक्षीय संस्थाहरू र बहुपक्षवादलाई पुनर्जीवित गर्नेमा केन्द्रित छ । तर जी-२० नेताहरूको वक्तव्य प्रति युक्रेनले निराशा व्यक्त गरेको छ ।

युक्रेनले वक्तव्यमा नाम किटाएर रूसको प्रत्यक्ष आलोचना नगरिएको भन्दै असन्तुष्टि व्यक्त गरेको हो । युक्रेन विरुद्ध रूसको आक्रमणबारे जी-२० मा गर्व गर्नुपर्ने केही विषय नरहेको युक्रेनी विदेश मन्त्रालयका प्रवक्ता ओलेग निकोलेन्कोले भन्नुभएको छ । यो शिखर सम्मेलनमा युक्रेनमा जारी युद्ध र जलवायु परिवर्तनसँग जुध्ने विषयमा देखिएको मत भिन्नताका विषयलाई थप नखोतल्ने र सकेसम्म धेरै कुरामा सहमति जुटाउनमा नेताहरू सहमत भएका छन् ।

जलवायु परिवर्तनको सन्दर्भमा जी-२० ले न्यूनतम साझा बिन्दु खोज्ने प्रयास गरेको छ । तर युरोपेली देश र अमेरिकाले जी-२० लाई युद्धको निन्दा गर्न दबाब दिँदै आएका थिए ।

प्रकाशित मिति: आइतबार, भदौ २४, २०८०  १२:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update