काठमाडौं, भदौ २४ । नेपाल-चीन संयुक्त लगानी भएको हिमालय एयरलाइन्सले सेप्टेम्बर १०, २०२३ मा लामो समयदेखि प्रतीक्षारत काठमाडौं-छिन्ताओ-काठमाडौं उडान सेवाको उद्घाटन गरेको छ । यो सेवा बिस्तारलाई एयरलाइन्सले नेपाल र चीनबीचको कनेक्टिभिटी बढाउने र द्विपक्षीय सम्बन्धलाई प्रवर्द्धन गर्ने प्रतिबद्धताका रुपमा लिएको छ ।
यस नयाँ रुटले यात्रुहरूलाई नेपालको राजधानी र चीनको रमणीय परिदृश्य, समृद्ध सांस्कृतिक सम्पदा र आर्थिक महत्वका लागि परिचित सहरको बीचमा सहज यात्राको विकल्प प्रदान गर्नेछ । एयरलाइन्सले हरेक आइतबार, सेप्टेम्बर १०, २०२३ देखि निर्धारित यस रुटको लागि साप्ताहिक सेवा सञ्चालन गर्ने तयारी गरेको छ ।
पहिलो आउटबाउन्ड उडान, एच ९, ७२२०, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्थानीय समय अनुसार बिहान ९ः१५ मा प्रस्थान गरेको थियो र छिन्ताओको जियाओडोङ्ग अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समय अनुसार साँझकोे ५ः२२ बजे अवतरण गर्ने छ । यस उडानको अवधि ५ घण्टा ५० मिनेटको रहनेछ । पहिलो उडानमा कूल यात्रु संख्या एक सय रहेको थियो । उद्घाटन कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री, माननीय सुदान किराँती प्रमुख अतिथिका रुपमा उपस्थित हुनु भएको थियो । यसका साथै नेपालका लागि चिनियाँ राजदूत, चेङ सोङ र अन्य विशिष्ट व्यक्तिहरूलाई हिमालय एयरलाइन्सका अध्यक्ष, झोउ एनयोङ र उपाध्यक्ष, विजय श्रेष्ठले स्वागत गर्नु भएको थियो ।
आफ्नो स्वागत सम्बोधनमा अध्यक्ष एनयोङले भन्नुभयो, “काठमाडौं-छिन्ताओ-काठमाडौं उडान सेवाको उद्घाटन हिमालय एयरलाइन्सका लागि महत्वपूर्ण उपलब्धि हो । छिन्ताओ चीनको महत्वपूर्ण व्यापारिक र वित्तीय केन्द्र हो जसले एसियालाई युरोपसँग जोड्दछ । दुई देशबीचको कनेक्टिभिटी, सांस्कृतिक आदानप्रदान, पर्यटन र व्यापार अभिवृद्धिमा भूमिका निर्वाह गर्न पाउँदा हामी अत्यन्तै गौरवान्वित छौं ।” राजदूत सोङले पनि आफ्नो विचार राख्दै भन्नुभयो, “काठमाडौं-छिन्ताओ-काठमाडौँ उडान सेवाको आरम्भ नेपाल-चीनबीचको बढ्दो सहयोगको प्रमाण हो । चीनले नेपालको हवाई पूर्वाधार विकासमा सक्रिय भूमिका निर्वाह गर्दै आएको छ । यस नयाँ रुटले नेपालको उड्डयन उद्योगमा नयाँ गति ल्याउनेछ र नेपाललाई भूपरिवेष्ठितबाट भू-जडित देशका रुपमा रुपान्तरण गर्न योगदान पुर्याउनेछ । यसले हाम्रो द्विपक्षीय सम्बन्धमा नयाँ अध्यायको प्रतिनिधित्व गर्नेछ । यस रुटले हाम्रा दुई देशबीचको मित्रता र सहयोगमा महत्वपूर्ण योगदान पुर्याउने कुरामा म विश्वस्त छु ।”
सो अवसरमा आफ्नो मन्तव्य राख्दै मन्त्री किराँतीले भन्नुभयो, “हिमालय एयरलाइन्सले काठमाडौं- छिन्ताओ-काठमाडौं उडान सेवाको सुरुवात गरेकोमा अत्यन्तै हर्षित भएको छु । यस प्रकारको सेवा नेपाल र चीनबीचको सम्बन्धलाई मजबुत बनाउने प्रतिबद्धताको उदाहरण हो । छिन्ताओ चीनको एक लोकप्रिय सांस्कृतिक र आर्थिक शहर हो । दुई देशबीचको पर्यटन र व्यापारको सम्भावना अपार रहेको हुँदा यो उडान सेवाले त्यस तर्फ निर्णायक भूमिका निर्वाह गर्नेछ । यस रुटबाट हिमालय एयरलाइन्सले उल्लेखनीय चिनियाँ पर्यटक नेपाल भित्र्याउने विश्वास लिएको छु र यसै अवसरमा म छिन्ताओ बासीलाई नेपाल भ्रमणको निमन्त्रणा पनि दिन चाहन्छु ।”
हिमालय एयरलाइन्सका प्रवक्ता समेत रहनुभएको विजय श्रेष्ठले नयाँ सुरु गरिएको रुटप्रति उत्साह व्यक्त गर्दै भन्नुभयो, “हिमालयको मुख्य लक्ष्य चीनका विभिन्न १० पर्यटन क्षेत्रमा उडान सञ्चालन गर्ने र १० लाख पर्यटकलाई नेपालमा स्वागत गर्ने हो । हिमालयले नेपालबाट चीनको लागि नयाँ रुटहरुमा उडान भर्दै आएको छ । यस अर्थमा नयाँ मार्केट स्थापित गर्नमा हाम्रो योगदान उल्लेखनीय छ क। यस रुटको सुरुवातसँगै हिमालयले उच्च सुरक्षा मापदण्ड कायम गर्दै अविस्मरणीय यात्रा अनुभवहरू प्रदान गर्ने लक्ष्य लिएको छ । हाम्रो यस उडानमा यात्रुहरूलाई स्वागत गर्न हामी उत्साहित पनि छौँ ।” हिमालय एयरलाइन्सले यात्रु, व्यवसायी र पर्यटकलाई काठमाडौं- छिन्ताओ-काठमाडौं उडान सेवाको सुविधा लिन आमन्त्रित गर्दछ ।
यात्रुहरूले हिमालय एयरलाइन्सको टिकटिङ काउन्टर, आधिकारिक ट्राभल पार्टनरहरू र एयरलाइन्सको वेबसाईटबाट काठमाडौं-छिन्ताओ-काठमाडौं उडानको टिकट बुक गर्न सक्ने छन् ।
हिमालय एयरलाइन्स प्रा.लि.को बारेमा
हिमालय एयरलाइन्स नेपाल-चीन बीचको संयुक्त साझेदारी कम्पनीका रूपमा स्थापित अन्तर्राष्ट्रिय विमान कम्पनी हो, जसको स्थापना सन् २०१४ मा भएको थियो । नेपाल र अन्य देशहरूबीच जनस्तरको सम्पर्कलाई बढावा दिनुका साथै नेपालको व्यापार र पर्यटन उद्योगलाई टेवा पुर्याउनु नै यस एयरलाइन्सका मुख्य दुई उद्देश्यहरू हुन् । हिमालय एयरलाइन्स, तिब्बती नागरिक उड्डयन विकास तथा लगानी कम्पनी लिमिटेड र यती वर्ल्ड इन्भेस्टमेन्ट प्रा. लि. बीचको संयुक्त साझेदारी कम्पनीका रूपमा स्थापित विमान कम्पनी हो ।
हिमालय एयरलाइन्ससँग हाल ४ वटा विमानहरू छन्, तीन एयरबस ३२० - २१४ (१८० मितव्ययी सीटहरू) र एक एयरबस ३१९-११५ (१४४ मितव्ययी सीटहरू) रहेका छन् । हिमालय एयरलाइन्सले हाल मध्यपूर्व र दक्षिण एशियाका प्रमुख राष्ट्रहरू - संयुक्त अरब इमिरेट्स, मलेसिया, कतार, साउदी अरेबिया, कुवेत, बङ्गलादेश र चीनमा यात्रुवाहक उडानहरू सञ्चालन गरिरहेको छ ।
एयरलाइन्सले साउथ एसियन ट्राभल अवार्डस २०१७ मा आफ्नो सञ्चालनको पहिलो वर्षमै दक्षिण एशियामा अग्रणी नयाँ अन्तर्राष्ट्रिय एयरलाइन्सका रूपमा अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गरेको थियो । सन् २०२० मा यसले आफ्ना स्तरीय प्राविधिक व्यवस्थापनका लागि पहिलोपटक आईएसओ ९००१ः२०१५ प्रमाणीकरण प्राप्त गरेको थियो । विमान मर्मत र इन्जिनियरिङ् सेवाहरूमा पुर्याएको उच्च व्यवस्थापन र क्षमताप्रति उक्त प्रमाणिकरण प्राप्त गरेको हो । डिसेम्बर २९, २०२१ मा एअरलाइन्स् अर्को महत्वपूर्ण आईएसओ ९००१ः२०१५ प्राप्तगर्ने नेपालको पहिलो एयरलाइन बन्यो । हवाई उडानसम्बन्धी प्रशिक्षण सेवाहरू सहित यात्रुहरू र कार्गो सेवाका लागि उच्च स्तरीय सेवा प्रदान गरे बापत उक्त प्रमाणीकरण प्राप्त भएको हो । सो प्रमाणीकरणले एयरलाइन्सको गुणस्तरप्रतिको प्रतिबद्धता र उच्च कार्यसम्पादन तथा अभ्यासप्रतिको समर्पणलाई उजागर गर्दछ ।
सन् २०२१ को सेप्टेम्बरदेखि एयरलाइन्सले आफ्ना जहाजहरूमा अटोमेटेड एक्सटर्नल डेफिब्रिलेटर्स जडान गरेको थियो । योसँगै एयरलाइन्स जडान गर्ने नेपालकै पहिलो र एक मात्र नेपाली वायुसेवा कम्पनी बनेको छ । हवाइ सुरक्षामा उत्कृष्टता हासिल गर्ने उद्देश्यका साथ अन टाइम पर्फमेन्स र मुख्यतः आफ्ना ग्राहकहरुको सेवामा एयरलाइन्सले आफूलाई पहिलो छनौटको भरपर्दो एयरलाइन्सको रुपमा स्थापित गरेको छ र दक्षिण एशियाकै अग्रणी एयरलाइन्सका रूपमा प्रतिस्थापित हुन चाहेको छ ।