काठमाडौं, भदौ २४ । हाँडीगाउँमा ५० फिट भन्दा अग्ला भवन बनाउन नपाइने भएको छ । हाँडीगाउँको सांस्कृतिक जीवन्तता बचाउन बनाइएको गुरुयोजना अनुसार यस्तो व्यवस्था समेटिएको हो । अब ५० फिट भन्दा कम अग्ला भवन निर्माणका लागि लाग्ने नक्सा दस्तुरमा ९० प्रतिशतसम्म छुट दिइने काठमाडौं महानगरपालिकाले जनाएको छ । यस क्षेत्रलाई व्यवस्थित गर्न सांस्कृतिक, सामाजिक, वातावरणीय, पूर्वाधार लगायतका कोणबाट छलफल समेत भएको थियो ।
आधुनिक सहरी करणले सामाजिक अन्तक्र्रिया र सम्बन्धलाई कमजोर बनाउँदै लगेको छ । सांस्कृतिक र सामाजिक क्रियाकलाप हुने सहरका मध्य भागसम्म सवारी साधनको सहज पहुँच छ । मानिसहरू मठमन्दिर जाँदा, स्वस्थ जीवनका लागि खेलकुदमा जाँदा समेत मोटरको प्रयोग गर्छन् । यसले प्राचीन स्मारक क्षेत्रको मौलिकपनमा खतरा बढाएको छ । धार्मिक, ऐतिहासिक, सांस्कृतिक, सामाजिक महत्वका स्थान, भित्री सहरी क्षेत्रलाई मानव केन्द्रित क्रियाकलापमा अभ्यस्त बनाउनुपर्ने भन्दै महानगरपालिकाले यस्तो नियम अघि बढाएको महानगरपालिका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए ।
उनका अनुसार हाँडीगाउँ गुरुयोजनाअन्तर्गत स्मारक क्षेत्रको वातावरणीय सुधार गर्न वल्र्ड कार फ्री डे २०२३ (५ असोज ०८०) का दिन सवारी निषेध कार्यक्रम सञ्चालन गरिँदै छ । एफएचआई ३६० स्वच्छ हावा परियोजनाका प्रमुख भूषण तुलाधरले, वायु प्रदूषण नियन्त्रणका लागि स्थानीय समुदायस्तरमै समाधानका उपाय भएको बताउँदै ती उपाय अवलम्बन गरेर जनस्वास्थ्य, वातावरण सुधार गर्न सकिने धारणा राखे ।
शनिबार आयोजित कार्यक्रममा रिच आर्किटेक्टका आर्कीटेक्टहरू पद्मसुन्दर महर्जन र सबिना तुलाधरले, कार्यपत्र प्रस्तुत गर्दै, यसको पुनर्उत्थानका लागि अझै पनि काम गर्न सकिने र प्राचीन स्वरूपलाई फर्काउन सकिने धारणा राखेका थिए । अन्तक्र्रियामा सम्पदा पुनर्उत्थान तथा वातावरणीय सुधारका लागि समुदायस्तरमा यसअघि भएका छलफलबाट आएका नतिजाका विषयमा दिगो विकास इन्स्टिच्युटबाट निहारिका माथेमाले प्रस्तुतीकरण गरेका थिए ।
लच्छिविकालीन सभ्यता झल्काउने हाँडीगाउँ :
उपत्यका भित्र लिच्छविकालीन नगर सभ्यताको केन्द्र मानिने हाँडीगाउँ स्वतन्त्र राज्य व्यवस्थाबाट सञ्चालित थियो । शिव शक्ति र भक्तिस्थान, वास्तुकला, चित्रकला, मूर्तिकला, चैत्य, बिहार जस्ता सम्पदाको एकै ठाउँमा अवलोकन गर्न सकिने ठाउँ थियो ।
प्रा.डा. सुदर्शनराज तिवारीका अनुसार हाँडीगाउँलाई पूर्व लिच्छवि, बर्मा तथा लिच्छविकालको संस्कृति र सम्पदाका लागि सर्वाधिक प्राचीन स्थानका रूपमा लिइन्छ । यहाँ भएको सत्यनारायण परिसरमा प्राचीन बस्ती र पूर्व लिच्छविकालका मन्दिरहरू भएको प्रमाण पाइन्छ । आधुनिक विकासले हाँडीगाउँमा हराएको प्राचीनताको आभासलाई पुनरुत्थान गराउन महानगरले गुरुयोजना अघि सारेको हो ।