Kath khabar
नेम्वाङको राजकीय सम्मानसहित अन्त्येष्टि गरिने तथा सार्वजनिक बिदा दिने सरकारको निर्णय

 

                         काठमाडौं, भदौ २६ । नेकपा एमालेका उपाध्यक्ष एवं संविधानसभा अध्यक्ष सुवास नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने सरकारले निर्णय गरेको छ । 

आज बिहान बसेको मन्त्रिपरिषद बैठकले उनको अन्त्येष्टिको दिन सार्वजनिक विदा दिने समेत निर्णय गरेको छ ।  संविधान निर्माण प्रक्रियामा उनले गरेको योगदानप्रति सम्मान प्रकट गर्दै सरकारले राष्ट्रिय सम्मान दिने निर्णय गरेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले बताए ।

आज दिनभरि श्रद्धाञ्जलीका लागि नेम्वाङको शव एमाले पार्टी कार्यालय च्यासलमा राखिने एमालेको तयारी छ । विदेशमा रहेका नेम्बाङका दुवै छोराहरु आइसकेपछि मात्रै अन्तिम संस्कार गरिने तथा उनको अन्तिम संस्कार मुन्धुम संस्कृतिअनुसार गरिने परिवारले जनाएको छ ।

हिजो दिनभर ज्वरो आए पछि घरमा नै आराम गरिरहेका नेम्वाङलाई गएराति हृदयघात भएपछि उपचारका लागि राति १ः ३० बजे त्रिवि शिक्षण अस्पताल लगिएकामा चिकित्सकहरुले मृत घोषणा गरेका थिए ।

उनको मृत्युको खबर पाएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल, पार्टी अध्यक्ष केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनालगायत पार्टीका नेता-कार्यकर्ता अस्पताल पुगेका थिए ।

प्रकाशित मिति: मंगलबार, भदौ २६, २०८०  ११:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update