Kath khabar
भारत एक खेलअघि नै एसिया कपको फाइनलमा

 

                   कोलम्बो, भदौ २७ ।  श्रीलङ्कालाई हराउँदै भारत एक खेलअघि नै एसिया कप क्रिकेटको फाइनलमा पुगेको छ ।

मङ्गलवार कोलम्बोमा भएको 'सुपर फोर' को खेलमा भारतले श्रीलङ्कालाई ४१ रनले हरायो । भारतले दिएको २१४ रनको सामान्य लक्ष्य पछ्याएको श्रीलङ्का ४१ ओभर ३ बलमा १७२ रनमा अल आउट भयो । 

श्रीलङ्काका लागि दुनिथ वेलालेगेले नटआउट ४२ रन बनाए । यस्तै धनन्जय डी सिल्भा ४१ रन बनाएर आउट भए । बलिङ तर्फ भारतका कुलदीप यादवले ४ तथा हार्दिक पान्ड्या र रवीन्द्र जडेजाले २/२ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारत ४९ ओभर १ बलमा २१३ रन बनाउँदा अल आउट भयो । भारतका लागि कप्तान रोहित शर्माले सर्वाधिक ५३ रन बनाए । यस्तै केएल राहुलले ३९, ईशान किशनले ३३ र अक्षर पटेलले २६ रन बनाए ।

बलिङ तर्फ श्रीलङ्काका २० वर्षीय बलर दुनिथ वेलालेगेले ५ विकेट लिए । वेलालेगेले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो पटक ५ विकेट लिएका हुन् । यस्तै चरिथ असलन्काले ४ र महीश थीकशानाले १ विकेट लिए । भारतको १० विकेट नै स्पिनरले लिए ।

भारतले अब सुपर फोरको अन्तिम खेलमा शुक्रवार बङ्गलादेशसँग खेल्नेछ । फाइनलमा पुग्ने अर्को टोलीको टुङ्गो बिहीवार हुने पाकिस्तान र श्रीलङ्का बीचको खेलबाट लाग्नेछ । यो खेलमा जित्ने टोली फाइनलमा पुग्नेछ । यदि वर्षाका कारण खेल नभएमा श्रीलङ्का नेट रनरेटमा अघि रहँदै फाइनलमा पुग्नेछ । बङ्गलादेश भने दुवै खेल हार्दै बाहिरिसकेको छ । फाइनल खेल आइतवार हुनेछ ।

प्रकाशित मिति: बुधबार, भदौ २७, २०८०  १३:००
प्रतिक्रिया दिनुहोस्
Weather Update