हेटौँडा, भदौ २९ । हेटौँडाको सञ्चो अस्पतालका २ जना डाक्टर माथि भएको कुटपिटको विरोधमा हेटौँडा अस्पताल सहित मकवानपुरका निजी र सरकारी स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सबै सेवा ठप्प भएका छन् ।
कुटपिट गर्ने सबैलाई पक्राउ नगरेसम्म आकस्मिक बाहेकका सबै सेवा ठप्प पारिने हेटौँडा अस्पतालका डाक्टर हरिबहादुर खड्काले बताउनुभयो । हेटौँडा अस्पतालमा कार्यरत ७८ जना डाक्टरहरुले सामूहिक रुपमा राजीनामा दिएका डाक्टर खड्काले बताउनुभयो ।
हेटौँडा अस्पतालमा मात्र हरेक दिन १५ सय जनाभन्दा धेरै बिरामीले ओपीडीबाट सेवा लिँदै आएका छन् । त्यहाँका निजी अस्पतालमा पनि बिरामीको त्यति नै चाप हुने गरेको छ । ओपीडी सेवा बन्द भएपछि बिरामीहरु मर्कामा परेका छन् ।
बिरामीको उपचार गरिरहेका बेला हाइ डिपेन्डेन्सी युनिट (एचडीयू) मै डाक्टर माथि भएको आक्रमणले असुरक्षा बढेको भन्दै मकवानपुरका स्वास्थ्यकर्मीले आन्दोलन थालेका हुन् । अस्ति बिहान हेटौँडा-१ को सञ्चो अस्पतालमा डाक्टर प्रशान्त बिडारी र डाक्टर विकास थापा माथि कुटपिट भएको थियो ।
डेङ्गीका कारण १ महिनाअघि ज्यान गुमाएका हेटौँडा-१२ का राजेश प्रधानका आफन्तले अस्पताल भित्र प्रवेश गरी अस्ति डाक्टर माथि कुटपिट गरेका हुन् । साउन २२ गते सञ्चो अस्पतालमा भर्ना भएका प्रधानको अवस्था गम्भीर भएपछि थप उपचारका लागि भोलिपल्टै चितवन रेफर गरिएको थियो ।
प्रधानलाई दोस्रो पटक डेङ्गी सङ्क्रमण पुष्टि भएको थियो भने उहाँलाई मधुमेह र उच्च रक्तचाप पनि थियो । उहाँको साउन २५ गते चितवन मेडिकल कलेजमा उपचार क्रममा ज्यान गएको थियो । कुटपिटमा संलग्नलाई कारबाही माग गर्दै जिल्लाका स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाले सामूहिक रूपमा प्रहरीमा जाहेरी दिएका छन् ।
स्थानीय प्रशासन र प्रहरीबाट सुरक्षा प्रत्याभूति नभएका कारण पीडितबाट मात्रै उजुरी दर्ता गर्ने अवस्था नभए पछि सामूहिक रूपमा दर्ता गरेको स्वास्थ्यकर्मीहरूले बताएका छन् । डाक्टर माथि कुटपिट गर्ने ४ जनालाई भने प्रहरीले पक्राउ गरेको छ ।
कार्यस्थलमा डाक्टरलाई कुटपिटबाट शारीरिक रुपमा चोटपटक पुर्याउनेलाई ३ वर्षसम्म कैद वा ३ लाख रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुने कानुनी व्यवस्था रहेको छ । कुटपिटमा संलग्नलाई पूर्पक्षमा राखेर अनुसन्धान गर्नुपर्ने कानुनी व्यवस्था पनि रहेको छ ।
हेटौँडा उपमहानगरपालिका-१ मा रहेको सञ्चो अस्पतालका चिकित्सकद्वय डा. विकास थापा र डा. प्रशान्त बिडारी माथि कुटपिटमा संलग्न रहेका ४ जनालाई प्रहरीले बिहीबार दिउँसो पक्राउ गरेको हो । मकवानपुर प्रहरी प्रवक्ता एवं डिएसपी लक्ष्मी भण्डारीका अनुसार पक्राउ पर्नेमा हेटौँडा उपमहानगरपालिका-१२ की रमा प्रधान, अमित प्रधान, रमिता प्रधान र अनुप प्रधान छन् । घटनामा संलग्न अन्यको पनि खोजीकार्य भइरहेको उनले जानकारी दिए ।