Kath khabar
काठमाडौँको गैह्रीगाउँमा चार जनाको हत्या भएको अवस्थामा शव फेला


                    काठमाडौं, भदौ ३० । काठमाडौँको तीनकुनेस्थित गैह्रीगाउँमा गएराति चार जनाको हत्या भएको अवस्थामा शव फेला परेको छ । गैह्रीगाउँस्थित दिव्य सः मिलभित्र ४ जनाको शव फेला परेको प्रहरीले जनाएको छ ।

हत्या हुनेमा सोही मिलमा गार्डको काम गर्ने करिब ५६ वर्षका कुमार भुजेल, उनकी पत्नी अम्बिका भुजेल, उनकी आमा करिब ७० वर्षीया सुभद्रा भुजेल र मोरङ घर भएका १९ वर्षीय नवीन राई रहेका छन् । उनीहरु एकै परिवारका रहेको बुझिएको छ । उक्त मिल दोलखा, कालीञ्चोक गाउँपालिका ८ घर भई गौशाला बस्ने, बालकृष्ण शिवाकोटीको रहेको बताइएको छ ।

उनीहरूको टाउको र शरीरलगायत विभिन्न भागमा धारिलो हतियारको चोट देखिएको छ ।  घटनाको कारण खुलिनसकेको र अनुसन्धान भईरहेको प्रहरीले बताएको छ । घटनाको अनुसन्धानका लागि तालिमप्राप्त प्रहरी र कुकुरको समेत परिचालन गरिएको छ ।

घटनाको अनुसन्धानका क्रममा सोही घरमा बस्ने २८ वर्षीय दीपेन्द्र राईलाई नियन्त्रणमा लिइएको काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापाले जानकारी दिएका छन् । शव परीक्षणको लागि महाराजगञ्जस्थित शिक्षण अस्पताल पठाइएको छ ।

प्रकाशित मिति: शनिबार, भदौ ३०, २०८०  ०७:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update