कोलोम्बो, भदौ ३१ । एसिया कपको उपाधिका लागि आज भारत र श्रीलङ्का खेल्दैछन् । खेल नेपाली समय अनुसार दिउँसो सवा ३ बजे कोलोम्बोमा हुनेछ ।
श्रीलङ्का र भारतको सुपर फोरमा ४-४ अङ्क थियो । नेट रनरेटको कारण भारत शीर्ष र श्रीलङ्का दोस्रो स्थानमा रहँदै फाइनल पुगेका हुन् । सुपर फोरमा भारतसँग श्रीलङ्का ४१ रनले पराजित भए पनि पाकिस्तानलाई २ विकेट र बङ्लादेशलाई २१ रनले हराउँदै फाइनलमा स्थान बनाएको हो ।
भारतले श्रीलङ्कालाई ४१ रन र पाकिस्तानलाई २२८ रनले हराएको थियो । बङ्लादेशसँग भने ६ रनले पराजित भएको थियो । श्रीलङ्काले २०२२ मा टी-२० र भारतले २०१८ मा एकदिवसीय एसिया कप जितेका थिए। रोहित शर्माले भारतको र श्रीलङ्काको दासुन शानकाले कप्तानी गर्नेछन् ।
यसअघि भारतले ७ पटक र श्रीलङ्काले ६ पटक एसिया कपको उपाधि जितेका छन् ।