Kath khabar
सन्दीप लामिछानेको मुद्दा स्थगितको सूचीमा

 

                काठमाडौं, असोज १ ।  सोमबारको लागि तोकिएको क्रिकेटर सन्दीप लामिछाने विरुद्ध जबरजस्ती करणीको मुद्दाको सुनुवाइ स्थगितको सूचीमा परेको छ। तीज पर्वका कारण पर्याप्त मात्रामा न्यायाधीश नहुँदा उनको मुद्दा स्थगित भएको हो।

यसअघि पटक पटक पेशी चढेर पनि अन्तिम बहस हुन नसक्दा मुद्दाको टुंगो लाग्न सकेको छैन। यसअघि भदौ २१ मा पछिल्लो पटक सन्दीपको पेशी रहेको थियो। तर त्यस दिन पीडितको बसाइँ सराइको कागजात झिकाउन आदेश दिइएको थियो। त्यो दिन पनि फैसला हुन पाएन। त्यसअघि न्यायाधीश राजकुमार खतिवडाको इजलासले गौशाला २६ र उनको आमाको उमेर विवादसँग सम्बन्धित कागजात मगाउन आदेश दिएको थियो। 

सन्दीपबाट बलात्कृत भएको भन्दै गौशाला २६ (परिवर्तित नाम)ले उजुरी दिएकी थिइन्। अनुसन्धान पछि प्रहरीले २०७९ कात्तिक १४ गते काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो। यति लामो समय बितसक्दा पनि मुद्दाको किनारा नलागेको भन्दै सन्दीपको मुद्दालाई चाँडो किनारा लगाउन सर्वोच्चले १५ फागुनमा नै निर्देशात्मक आदेश गरेको थियो। 

प्रकाशित मिति: सोमबार, असोज १, २०८०  १४:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update