Kath khabar
क्यानडाबाट १ भारतीय कुटनीतिज्ञलाई देश निकाला

 

                   टोरन्टो, असोज २ ।  क्यानडाले १ जना शिख नेताको हत्या आरोपमा भारतका १ जना कुटनीतिज्ञलाई देश निकाला गरेको छ । विदेशमन्त्री मेलनी जोलीले भारतका वरिष्ठ कुटनीतिज्ञलाई देश निकाला गरिएको जानकारी दिए पनि थप विवरण खुलेको छैन ।

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले हिजोको संसदमा सम्बोधन गर्दै भारत सरकारका एजेन्टले गएको जुन महिनामा क्यानडाको ब्रिटिश कोलम्बियामा शिख समुदायका नेता हरदीप सिंह निज्जरको हत्या गरेको टिप्पणी गर्नुभएको थियो । साथै उहाँले भारतमा हालै सम्पन्न जी-२० शिखर सम्मेलनका बेला आफूले यो मुद्दा प्रधानमन्त्री नरेन्द्र मोदी समक्ष उठाएको पनि जानकारी दिनुभएको थियो ।

भारतले क्यानडाको यो आरोपको खण्डन गरेको छ । भारतीय विदेश मन्त्रालयले क्यानडामा कुनै पनि प्रकारको हिंसामा भारत सरकार संलग्न नरहेको दाबी गरेको बीबीसी हिन्दीले जनाएको छ । क्यानडामा भारतीय मूलका १४ लाख भन्दा धेरै नागरिक रहेको अनुमान छ । तिमध्ये धेरैजसो शिख समुदायका छन् ।

क्यानडाले भारतीय कुटनीतिज्ञलाई निष्कासन गरेपछि २ देशबीचको सम्बन्ध चिसिएको छ ।

प्रकाशित मिति: मंगलबार, असोज २, २०८०  १३:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update