Kath khabar
चिसो बढ्न थालेपछि बेँसी झर्न थाले भेडीगोठ

 

                  बाजुरा, असोज २ ।  बाजुराका अधिकांश भेडीगोठ यतिबेला बेँसी झर्न थालेका छन् । समुद्री सतह देखि झण्डै ५ हजार मिटरभन्दा बढी अग्ला स्थानमा चिसो बढ्न थालेपछि भेडीगोठ बेँसी झर्न थालेका हुन् ।

बूढीनन्दा नगरपालिका-९ का भोडापालक कृषक प्रेम बहादुर थापाले गत चैत वैशाख गर्मीको समय भेडालाई सहज हुने गरी लेकमा लगेको तर अहिले त्यहाँ चिसो बढ्न थालेपछि ती भेडीगोठ फेरि बेँसीमा झार्न थालेको बताए।

उनले भने, “अब हिउँद शुरु हुने बित्तिकै लेकमा धेरै चिसो हुन्छ । चिसोले घाँस पनि सुक्छ । अनि त्यहाँ भेडालाई चराउन समस्या हुने हुँदा अहिले ती भेडीगोठ बेँसीमा झार्नुपरेको हो ।”

गत चैत वैशाख महिना देखि बूढीनन्दा, हिमाली, स्वामिकार्तिक, जगनाथ लगायतका स्थानीयले पालनका लागि भेडीगोठ लेकमा लगेका थिए । असोज महिना देखि नै लेकमा पनि चिसो बढेसँगै अहिले यहाँका भेडा पालक कृषकले ती भेडीगोठ धमाधम बेँसीमा फर्काउन थालेका हुन् ।

हिउँदमा लेकमा हिउँ पर्छ, हिउँ परेपछि भेडाबाख्रालाई धेरै चिसो हुन्छ । उता भेडालाई पनि चरनको समस्या हुन्छ । बेँसीमा चिसो छेल्न तथा पालन पोषण गर्न सहज हुने भएकोले भेडीगोठ बेँसी झार्ने गरेको थापाले बताए ।

पहिला गाउँमा सबै वन खुल्ला हुन्थे । वनमा भेडा पाल्न सहज हुन्थ्यो । अहिले सबै वन सामुदायिक हुँदा पछिल्लो समय भेडालाई चरनको निकै समस्या हुँदै गएको उहाँले बताए । 

प्रकाशित मिति: मंगलबार, असोज २, २०८०  १८:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update