Kath khabar
जापान तथा तान्जानिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्तिहरु पक्राउ



                   काठमाडौं, असोज ३ । जापान पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा खोटाङ साकेला गाउँपालिका–१ घर भई काठमाडौं महानगरपालिका–२९ घट्टेकुलो बस्ने ४५ वर्षीय राज कुमार गुरूङ र सुनसरी इटहरी उपमहानगरपालिका–१९ घर भई काठमाडौं महानगरपालिका–२९ घट्टेकुलो बस्ने २८ वर्षीय उदय गुरूङ रहेका छन् ।

उनीहरूले १ जनालाई वैदेशिक रोजगारका लागि जापान पठाइ कुकमा मासिक १ लाख रुपैयाँभन्दा बढी तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटकपटक गरी २ लाख ७० हजार रूपैयाँ लिई सम्पर्क बिहीन भई ठगी गरेकोले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरी टोलीले उनलाई काठमाडौं घट्टेकुलोबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।  

तान्जानिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ
तान्जानिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दैलेख नारायण नगरपालिका–७ घर भई काठमाडौं महानगरपालिका–१५ स्वयम्भू बस्ने ४२ वर्षीय गणेश बहादुर सिंहलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

सिंहले १ जनालाई वैदेशिक रोजगारका लागि तान्जानिया पठाइ आकर्षक तलब हुन्छ भन्दै प्रलोभनमा पारी पीडितबाट रकम  लिई सम्पर्क बिहीन भई ठगी गरेकोले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरी टोलीले उनलाई काठमाडौं सितापाइला चोकबाट पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।   

प्रकाशित मिति: बुधबार, असोज ३, २०८०  १०:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update