काठमाडौं, असोज ३ । सरकारले संसद्मा दर्ता गराएको ‘विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक-२०८०’ विरुद्ध देशभरका शिक्षकहरु आन्दोलित भएका छन्।
देशभरबाट आएका हजारौँ शिक्षकहरु बुधबार काठमाडौंको सडकमा उत्रिएका हुन्। विभिन्न प्रदेशबाट गाडी रिजर्भ गरेर आएका शिक्षकहरु काठमाडौंका चोक चोकमा जम्मा भएर माइतीघर मण्डल पुग्दैछन्। उनीहरुले शिक्षकको हकहित विरोधी विधेयक ल्याएको भन्दै सरकार विरुद्ध चर्का नाराबाजी सहित आलोचना गरेका छन्। नेपाल शिक्षक महासंघको नेतृत्वमा थालिएको आन्दोलनमा सामुदायिक र संस्थागत निजी तथा आवासीय विद्यालयका शिक्षकहरु समेत सहभागी हुँदैछन्।
देशभरका ३४ हजार विद्यालयका २ लाख भन्दा बढी शिक्षकहरु आन्दोलनमा उत्रने भएपछि करिब ७० लाख विद्यार्थीको पढाइ नराम्ररी प्रभावित हुने अवस्था आएको छ। आधा शिक्षक काठमाडौंमा हुने आन्दोलनमा सहभागी हुन आएका छन् भने अरु शिक्षकले पनि पठनपाठन बन्द गरेका छन्। विद्यालयमा हाजिर भएर पनि पेन डाउन गरेकाले पठनपाठन पूरै ठप्प भएको छ।
महासङ्घको आन्दोलनका कारण देशभरको पठनपाठन प्रभावित हुने भएको छ । अहिले प्रभावित भएको पठनपाठन पछि अतिरिक्त समयमा पढाएर पूरा गर्ने महासंघले जनाएको छ । विद्यालय बन्द गर्नु आफूहरूको रहर नभएर बाध्यता भएको भन्दै अभिभावक तथा विद्यार्थीहरूलाई आफ्नो मर्का बुझिदिन महासंघकी अध्यक्ष कमला तुलाधरको आग्रह छ ।
विद्यालय शिक्षा विधेयक प्रति असन्तुष्ट जनाउँदै आएको नेपाल शिक्षक महासङ्घले आज काठमाडौंमा मार्च पास गर्दैछ । आज माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म शान्तिपूर्ण प्रदर्शन गर्ने महासंघले जनाएको छ । प्रदर्शनमा सहभागी हुन देशका ७७ वटै जिल्लाबाट शिक्षकहरु काठमाडौं आएका छन् ।
नेपाल शिक्षक महासङ्घको आह्वानमा राहत, करार, बाल विकास, स्थायी लगायतका शिक्षक कर्मचारी काठमाडौं आएका हुन् । विद्यालय शिक्षा विधेयक प्रति महासङ्घले विभिन्न १८ बुँदे असहमति राखेको छ । सरुवा बढुवा, दरबन्दी, पालिका अन्तर्गत नबस्ने सहितका माग छन् ।
हिजो शिक्षा मन्त्रालयले आन्दोलनरत महासंघलाई वार्ताका लागि बोलाएको थियो । तर, शिक्षा मन्त्रालयसँग यस अघि पनि पटक पटक वार्तामा बसे पनि निकास नस्किएको भन्दै महासंघले वार्तामा सरकार प्रमुख सहित सरोकारवाला अन्य निकाय पनि हुनु पर्ने माग गरेको छ ।