Kath khabar
आज विश्व अल्जाइमर दिवस, हरेक वर्ष १ करोड नयाँ बिमारी थपिदै

 

                काठमाडौं, असोज ४ ।  आज विश्व अल्जाइमर दिवस । हरेक वर्षको सेप्टेम्बर २१ तारिखलाई विश्व अल्जाइमर दिवसको रूपमा मनाइँदै आइएको छ । विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्क अनुसार अहिले विश्वमा ५ करोड ५० लाख व्यक्तिहरू डिमेन्सियाबाट पीडित रहेका छन् भने हरेक वर्ष १ करोड नयाँ बिमारीहरू थपिँदै गएका छन् । त्यसैले पनि अल्जाइमर रोगको समस्या विश्वमा तीव्र रूपमा बढिरहेको देखिन्छ ।

अल्जाइमर रोग मुख्य रूपमा वृद्ध अवस्थामा मस्तिष्कमा देखिने एक किसिमको समस्या हो । यो समस्या साधारण रूपमा शुरु हुन्छ र पछि गएर जटिल किसिमको समस्या बनेर देखा पर्ने गर्छ ।

सामान्य अवस्थामा हुँदा धेरै व्यक्ति वा परिवारका सदस्यहरूले यो समस्या प्रति वास्ता नै गर्दैनन् पछि गएर यही समस्या जटिल बनेर देखा पर्ने गर्छ । यो हुनुको मुख्य कारण भनेको धेरै व्यक्तिलाई अल्जाइमर रोगको विषयमा जानकारी नहुनु नै हो ।

तर अल्जाइमर रोगको प्रकृति र यसले ल्याउने समस्यालाई हेर्ने हो भने यो रोगको विषयमा घरमा वृद्ध अवस्थाका व्यक्ति भएको परिवार वा कुनै बेला आफू पनि वृद्ध अवस्थामा पुगिन्छ भन्ने कुराको महसुस गर्ने व्यक्तिहरूले अल्जाइमरको विषयमा जानकारी भने राख्नै पर्छ ।

मानिसको उमेर बढ्दै गएपछि मस्तिष्कका कोशिकाहरू कमजोर हुने र नष्ट हुँदै जान्छ । यो प्रक्रियालाई डिमेन्सिया भनिन्छ । यसरी मस्तिष्कका कोशहरू नष्ट हुँदै गएपछि व्यक्तिले केही बेर अगाडि गरेकै कुराहरू बिर्सन थाल्छ । यो बिर्सने क्रम बढ्दै गएपछि अल्जाइमर हुन्छ । 

प्रकाशित मिति: बिहीबार, असोज ४, २०८०  १२:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update