काठमाडौं, असोज ४ । शिक्षक आन्दोलनका कारण काठमाडौंको यातायात व्यवस्थापन अस्तव्यस्त बनेको छ । आन्दोलनले गर्दा विभिन्न स्थानबाट सवारी साधनहरुलाई डाइभर्सन गरिएको छ । डाइभर्सनका कारण तीनकुने, कालीमाटी, बल्खुबाट ठुला सवारी साधनलाई र साना सवारी साधनलाई भने नयाँबानेश्वर, थापाथली, हनुमानस्थान बबरमहल, बिजुलीबजार लगायतका चोकहरुबाट डाइभर्सन गरिएको छ ।
नयाँबानेश्वर सम्मको लागि भइरहेको र्यालीका कारण सवारी साधन डाइभर्सन गरिंदा भद्रकाली, त्रिपुरेश्वर, रणोद्दिप चोक, थापागाउँ, अनामनगर, कालिकास्थान, सिंहदरबार, पुतलीसडक, शान्तीनगर, तीनकुने गैह्रिगाउँ, नयाँबानेश्वर पानीट्याङकी, कुपण्डोल, सोह्रखुट्टे, जयनेपाल, कृष्ण पाउरोटी लगायतका चोकमा सवारी साधन चापमा चलिरहेका छन् ।
संघीय शिक्षा विधेयकको विरोधमा राजधानी काठमाडौंलाई केन्द्रित गर्दै देशभरका शिक्षक आन्दोलनमा उत्रिएका छन् । नेपाल शिक्षक महासंघको आह्वानमा विभिन्न जिल्लाबाट काठमाडौं आएका शिक्षक तथा विद्यालयका कर्मचारीको विरोधका कारण माइतीघर मण्डला आसपासका सडक अस्तव्यस्त बनेका छन् । बुधबार माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गर्दै उनीहरुले आजदेखि थप आन्दोलनका कार्यक्रम गर्ने चेतावनी दिएका छन् ।
शिक्षक सरुवा, बढुवा, बढुवालगायत संसदमा दर्ता भएको शिक्षा विधेयकका विभिन्न १८ बुँदेमा असहमति जनाउँदै उनीहरु सडकमा उत्रेका हुन् । महासंघले माग पूरा नभएसम्म आन्दोलन नरोक्ने चेतावनी दिएको छ । शिक्षक आन्दोलनमा उत्रिएपछि आजदेखि देशभरका सामुदायिक विद्यालय बन्द भएका छन् ।
शिक्षा विधेयकको मस्यौदामाथि नेपाल शिक्षक महासंघले दिएका सुझावहरूलाई समावेश नगरी संसद्मा पेस गरिएको भन्दै उनीहरू विरोधमा उत्रिएका हुन्। शिक्षकहरूले बिहीबार बिहान सिंहदरबारमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग छलफल सुरु गरे पनि वार्ता निष्कर्षमा पुग्न सकेको छैन ।
यसैबीच, काठमाडौं महानगरपालिकाले शिक्षकहरूलाई चेतावनी दिएको छ । मेयर बालेन शाहले कुनै पनि आन्दोलनमा शिक्षक संलग्न भए दण्डनीय हुने सार्वजनिक रुपमा बताएका छन् ।