काठमाडौं, असोज ४ । अमेरिकी खर्बपति व्यापारी एलन मस्कले मानव मस्तिष्कमा चिप प्रत्यारोपण गर्न क्लिनिकल परीक्षणको लागि अनुमति पाएका छन् ।
एलन मस्कको ब्रेन इम्प्लान्ट कम्पनी न्युरालिङ्कले रोबोटद्वारा मस्तिष्कमा शल्यक्रिया गरी चिप राख्ने उद्देश्यले उपकरण विकास गरिरहेको छ । जुन मस्तिष्कको गतिविधि डिकोड गर्न र कम्प्युटरमा लिङ्क गर्न सक्षम छ । अहिलेसम्म कम्पनीले जनावरमा मात्रै यस्तो अनुसन्धान गरेको छ ।
अनुसन्धानले मानव मस्तिष्कमा ब्रेन कम्प्युटर इन्टरफेस (बीसीआई) प्रत्यारोपण गर्नको लागि शल्यक्रिया गर्ने रोबोटलाई समावेश गर्नेछ । यो प्रयोगको लक्ष्य मस्तिष्कलाई कम्प्युटरसँग जोड्नु हो । परीक्षणमा चिपको प्रयोग सफल भयो भने आँखै नदेख्ने मान्छेले चिपको सहायताले हेर्न सक्नेछन्, बोल्न नसक्नेले पनि बोल्न सक्नेछन् । पक्षघातका बिरामीले दिमागले औंलाले भन्दा छिटो स्मार्टफोन चलाउन सक्ने मस्कको दाबी छ ।
यसका लागि ‘सर्भिकल स्पाइनल कर्ड’का कारण पक्षाघात भएका वा ‘एमियोट्रोफिक लेटरल स्क्लेरोसिस (एएलएस)’ जस्ता रोगबाट प्रभावित व्यक्तिको खोजी भइरहेको छ । यद्यपी, यो अध्ययनमा कुल कति बिरामीमा ट्रायल सुरु हुने भन्नेबारे अहिलेसम्म कुनै जानकारी प्राप्त भएको छैन । यो अध्ययन पूरा गर्न करिब ६ वर्ष लाग्नेछ।
यो प्रयोगको उद्देश्य मान्छेको दिमागलाई कम्प्युटरसँग सिधै कुराकानी गर्न सक्षम बनाउनु भएको डिसेम्बरमा न्यूरालिंकको एक प्रेजेन्टेशनको क्रममा मस्कले भनेका थिए । कम्पनीले मस्तिष्कको सतहमा सिलाउन इलेक्ट्रोडले भरिएको कम्प्युटर चिप र शल्यक्रिया गर्न रोबोटिक उपकरण डिजाइन गरेको छ । जुन सिक्काको साइजको हुन सक्छ। यो चिपलाई लिंक भनिन्छ। यो उपकरणले मस्तिष्क गतिविधि (न्यूरल इम्पल्स) मार्फत कम्प्युटर, मोबाइल फोन वा अन्य कुनै पनि उपकरणलाई प्रत्यक्ष रूपमा नियन्त्रण गर्ने क्षमता प्रदान गर्नेछ।
मस्कले सन् २०१९ को जुलाईमै न्यूरालिंकले सन् २०२० मा पहिलो मावन परीक्षण गर्ने वाचा गरेका थिए । उनको सो संकल्प अहिले पूरा हुन लागेको छ ।